डडेल्धुरा: जिल्ला सरदुमकाम खलंगामा रहेको महेन्द्र माविले अमरगढी नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ।
आज सम्पन्न नगरस्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै महेन्द्र माविले शिल्ड उचालेको हो। उसले २१ स्वर्ण, १४ रजत र ७ कास्य गरी कूल ४२ पदक जित्दै प्रथम स्थान हासिल गर्यो।
उपाधिसँगै महेन्द्रले नगद २५ हजार, शिल्ड र प्रमाणपत्र पनि पाएको छ। प्रतियोगितामा जिल्ला सदरमुकामकै माउन्टेन बोर्डिङ स्कुल बागबजार द्वितीय भएको छ ।
माउन्टेनले १० स्वर्ण, १४ रजत र ९ कास्य गरी कूल ३३ पदक जितेको छ।
उसले दोस्रो स्थान हासिल गरेबाफत नगद २० हजार रुपैयाँ र प्रमाणपत्र पाएको अमरगढी नगरपालिका शिक्षा शाखा अधिकृत हेमन्तराज पन्तले जानकारी दिए।
उनका अनुसार प्रतियोगितमा क्याम्ब्रिज पब्लिक स्कूल तृतीय भएको छ। तृतीय स्थान हासिल गरेको क्याम्ब्रिजले ९ स्वर्ण, २ रजत र ३ कास्य गरी कूल १४ पदक जित्यो। क्याम्ब्रिजले १५ हजार रुपैयाँ र प्रमाणपत्र पाएको छ।
‘दीर्घ जीवनका लागि खेलकुद’ भन्ने नारासहित अमरगढी नगरपालिकाको आयोजना तथा महेन्द्र माविको व्यवस्थापनमा मंगलबारदेखि सुरु भएको रनिङ शिल्ड बिहीबार सम्पन्न भएको छ। नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा नगरपालिकाका ११ वटा विद्यालयको सहभागिता थियो।