बैतडी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विकासे योजनाको अनुगमन तथा निरीक्षण गर्न जिल्ला भ्रमणमा निस्केका छन्।
सोही क्रममा उनी बैतडी पुगेका छन्। यस प्रदेशका नौ वटै जिल्लामा पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्री शाहले गोठालापानीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था र प्रगति बुझ्न पहिलो चरणमा दार्चुला, बैतडी र डडेलधुरा जिल्ला भ्रमणमा निस्किएको बताए।
उनले भने, “प्रदेश सरकार नागरिकसँग प्रत्यक्ष भेटघाट गर्न जिल्लामै पुगेको छ।” पहाडी जिल्लाको भ्रमण सकेर अन्तिममा कैलाली र कञ्चनपुरको भ्रमण हुने बताए।
दार्चुला भ्रमण सकेर बैतडी आउनुभएका मुख्यमन्त्री शाहले प्रदेश सरकारले एक वर्षको अवधिमा स्थानीय तहलाई एक अर्बभन्दा बढीको वित्तीय समानीकरण बजेट पठाएको बताए।