काठमाडौं : उच्च अदालतका रिक्त न्यायाधीश नियुक्तिप्रति असन्तुष्ट नेपाल बार एसोसिएसनले न्याय परिषदबाट आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
गत साताको ३९ जना न्यायाधीश नियुक्ति सिफारिसमा कानुन व्यवसायीहरुको तर्फबाट भएका केही भागबण्डाको अनुहारमा बारले चर्को असहमति जनाएको छ।
‘उच्चको न्यायाधीश नियुक्तिमा मनपरी भएको छ। भ्रष्टलाई पनि न्यायाधीश बनाइएको छ वरिष्ठतामा रहेकाहरुलाई छुटाइएको छ,’ बारका एक जना पदाधिकारीले भने, ‘हाम्रा प्रतिनिधि रामप्रसाद श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेका छौं।’
परिषद्को बैठकपछि श्रेष्ठलाई अस्ति छलफलको निम्ति बारमा बोलाइएको थियो। तर, मोबाइल अफ गरेर बसेका उनी बारको छलफलमा नगएको बताइन्छ। हिजोको बार बैठकले उनलाई परिषद प्रतिनिधिबाट फिर्ता बोलाउने निर्णय गरेको छ।
बैठकको माइन्युटमा श्रेष्ठमाथि न्यायिक विश्वास नरहेको व्यहोरा उल्लेख छ। त्यसमा केही सदस्यले दस्तखत गरिसकेका छन् भने, २-३ जनाको सही हुन बाँकी छ। बारको हिजोको निर्णय भोलि औपचारिक रुपमा सार्वजनिक गरिँदै छ।