डडेल्धुरा : डडेल्धुराको शहरी जनसंख्या ४.५७ प्रतिशत मात्र रहेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरणको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार राष्ट्रिय जनगणना २०७८ को जनसंख्यालाई मुख्य आधार मानी नेपालको ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण कार्य सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो।
यस प्रतिवेदन अनुसार नेपालमा शहरी, शहरोन्मुख र ग्रामीण श्रेणीमा क्रमशः २७.०७ %, ३९.७५ % र ३३.१९ % जनसंख्या बसोबास गर्छन्।
विगतमा नगरपालिकाको जनसंख्यालाई शहरी जनसंख्याको रूपमा परिभाषित गरिँदै आएको थियोे, जुन ६६% रहेको थियो।
नेपालको सबै स्थानीय तहका वडागत विश्लेषण गर्दा शहरी, शहरोन्मुख र ग्रामीण श्रेणीमा क्रमशः ९६२, २०९६ र ३६८५ वडाहरु परेका छन्।
सोही वर्गीकरण अनुसार डडेल्धुरा जिल्लाका स्थानीय तहका वडाहरु हेर्दा अमरगढी नगरपालिका वडा नम्बर ५ मात्र शहरी श्रेणीमा परेको तथ्यांक कार्यालय, डडेल्धुराका प्रमुख तथ्यांक अधिकृत चन्द्रबहादुर पालले जानकारी दिए।
पालका अनुसार अमरगढी नगरपालिकाको वडा नम्बर ५ बाहेक जिल्लाका बाँकी सबै ५१ वटा वडाहरू ग्रामीण श्रेणीमा परेका छन्।
यसरी हेर्दा डडेल्धुरा जिल्लाको शहरी जनसंख्या ४.५७ प्रतिशत र ग्रामीण जनसंख्या ९५.४३ प्रतिशत रहेको देखिने उनी बताउँछन्। अन्य कुनै पनि वडा शहरोन्मुख नदेखिएको उनको भनाइ छ।