धनगढी : गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला बाजुराको त्रिवेणी नगरपालिकामा भएको हत्याका आरोपीलाई साधारण तारेखमा छाड्ने सर्वोच्च अदालतका न्यायाधीशलाई कारबाहीको माग गर्दै संसदमा निवेदन परेको छ । मृतकका बुबा गगने अयडीले सभामुखलाई सम्बोधन गरिएको पत्र संसद सचिवालयमा बुझाएका छन् ।
प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएका आरोपीलाई साधारण तारेखमा छाड्न पुस १९ गते आदेश गरेको थियो । उक्त आदेशमा न्यायधीशबाट न्यायिक विचलन भएको तथा कानूनमन्त्री धनराज गुरुङ र सरकारको दबाब देखिएको निवेदकको दाबी छ ।
२०७९ मंसिर ४ गते चेतन अयडीको सुतिरहेको अवस्थामा हत्या भएको थियो । त्यसपछि मृतकका बुबाले प्रहरीले कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । जिल्ला अदालतले पुस ५ गते थुनछेक आदेश गर्दै थुनामा पठाउने निर्णय गरेको थियो । उच्च अदालत दिपायलले २०७९ फागुन ४ र २०८० असार ३ गते जिल्लाको आदेश सदर गरेको थियो । त्यसपछि आरोपीहरू जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च पुगेका थिए । अनुकूल न्यायाधीश नपरेकै कारण आरोपीले सर्वोच्च अदालतमा पटकपटक पेशी स्थगित गरेको निवेदकको दाबी छ ।
निवेदक अयडीले न्यायधीशद्वय राउत र मुसलमानमाथि आवश्यक कारबाहीका लागि संसदीय प्रकृयामार्फत पहल गर्न आग्रह गरेका छन् । कारबाहीको माग गरिएका न्यायाधीश राउत भावी प्रधानन्यायाधीशको लाइनमा छन् ।