डोटीः डोटीमा डस्टबिनका रूपमा डोको प्रयोगमा ल्याइएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरमा डस्टबिनका रूपमा डोकोको प्रयोग ल्याइएको हो।
गत वर्षबाट यस क्षेत्रमा बाँस तथा निगालोबाट बनाइएका डोकालाई फोहोर मैला व्यवस्थापनका लागि डस्टबिनका रूपमा प्रयोगमा ल्याइएको हो।
पछिल्लो समय अत्याधिक प्रयोगमा आउने प्लास्टिकको डस्टबिनको साटो डोको प्रयोग गर्दा वातावरण स्वच्छ रहने वडाध्यक्ष खेमबहादुर घर्तीमगरले बताए।
स्थानीय स्तरमा पाइने बाँस तथा निगालोबाट बनाइएका डोकालाई प्रयोग गर्दा बजार क्षेत्रको सरसफाइमा सहयोग पुग्नाका साथै स्थानीय स्रोत साधनले बजार पाउने र रोजगारी समेत बढ्ने उनको भनाइ छ।
यसैबीच मङ्गलवार सिमचौर बजार व्यवस्थापन समितिलाई डस्टबिन स्वरूप ३० ओटा डोका हस्तान्तरण गरिएको छ।
यूएमएन डोटी र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत वडासँगको सहकार्यमा डोका हस्तान्तरण गरिएको हो।