रेसुंगा : गुल्मीकी मनिषा जिसीले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा पास गरेकी हुन्।
उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह पास गरेकी हुन्।
‘सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो। छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ,’ उनले भनिन्। परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाइ छ । एक महिना मात्र तयारी गरेर परीक्षा पास भएको उनले बताइन्।
‘रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ,’ उनी भन्छिन्।
उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट २०७५ सालमा पास गरेकी हुन्। त्यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन्।
उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट पास गरेकी हुन्। उनी अहिले बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययनरत पनि छिन्। रासस