धनगढीः धनगढी उपमहानगरपालिकाले मालपोत कार्यालय धनगढीमा सोलार पावर जडान गरेको छ। विद्युत् गएको समयमा मालपोतको सेवा अवरुद्ध हुने भएकाले उपमहानगरपालिकाले सोलार पावर जडान गरेर सहयोग गरेको हो।
भूमि सुधार तथा मालपोत कार्यालय धनगढीबाट कैलालीका धनगढीमा, गौरीगंगा, गोदावरी, चुरे, कैलारी, घोडाघोडी, बर्दोगोरिया गाउँपालिका र भजनी नगरपालिकाका जनताले सेवा लिने गर्दछन्।
विद्युत सेवा अवरुद्ध भयो भन्ने मालपोत कार्यालयको सेवा ठप्प रहने अवस्थाको अन्त्य गर्न उपमहानगरपालिकाले सोलार पावर जडान गरेको नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ।
धनगढी र अन्य स्थानीयतहबाट आएका सेवाग्राहीले एउटै कामका लागि ३÷४ दिनसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्न सोलार पावर जडान गरिएको हो। सोलार पावर जडान भएसँगै बत्ती नभएको अवस्थामा पनि सेवाग्राहीको काम सुचारु हुनेछ।
उपमहानगरपालिकाले ९ लाख ९८ हजारको लागतमा सोलार पावर जडान गरेको जनाएको छ। नेपाल उर्जा विकास कम्पनी प्रालि, काठमाडौंले भूमिसुधार तथा मालपोत कार्यालयमा सोलार ईन्भटर पावर व्याकपको जडान कार्य गरेको हो।
बिहिवार एक समारोह आयोजना गरेर शिक्षाविद् तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्रा. डा. हेमराज पन्तले सोलार पावर उद्घाटन गरेका हुन्।