धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी थालेको छ। सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरिसकेको सरकारले अहिले विभिन्न चरणमा छलफल सुरु गरेको हो ।
सुदूरपश्चिममा शिक्षासम्बन्धी विज्ञ, राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवालासँगको अन्तरक्रिया गरिसकेको प्रदेश सरकारले अहिले यस विषयमा काठमाडौँमा थप छलफल र अन्तरक्रिया गरिरहेको छ।
सरकारले प्राविधिक विश्वविद्यालय स्थापनासम्बन्धी मस्यौदा निर्माणमा सल्लाह सुझाव प्रदान गर्न, विश्वविद्यालयको स्थान यकिन तथा जग्गा प्राप्तिसम्बन्धी कार्यमा मन्त्रालयलाई राय सुझाव दिन र विश्वविद्यालय स्थापना तथा सञ्चालनका लागि आवश्यक पर्ने अन्य व्यवस्थापकीय कार्यमा मन्त्रालयलाई सहयोग गर्ने सेवा सुविधा पाउने गरी डा। लवदेव अवस्थी संयोजक रहने गरेर तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
सो कार्यदलको सदस्यमा संविधान सभा सदस्य एवं अधिवक्ता हरिराम श्रीपाइली र सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह रहेका छन्।
आइतबार काठमाडौँमा भएको छलफलमा सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विगतमा प्रदेश सरकारले सुदूरपश्चिममा नयाँ र फरक ढङ्गले प्राविधिक विश्वविद्यालय स्थापना गर्ने तयारी रहेको बताएका थिए ।
प्रदेश सरकारले पौष ६ गते प्रदेश प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्दै कार्य दल गठन गरिसकेको छ । अहिले उक्त कार्यदलले तयार पारेको प्रस्तावित मस्यौदामा छलफल भइरहेको छ ।
काठमाडौँको छलफलमा सामाजिक विकास मन्त्री झपट साउद, प्रदेश सरकारका प्रमुख सचिव डा हरि लम्साल, विश्वविद्यालय ऐनको ड्राफ्ट मस्यौदा संयोजक डा लवदेव अवस्थी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेश सिंह सहितको उपस्थिति रहेको थियो ।