धनगढी : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रमुख डा. क्षतिज श्रेष्ठ आफ्नै कार्यालय परिषरमा कुटिएका छन् । आफ्नै कार्यकक्षमा रहेका श्रेष्ठलाई ४ जनाको समूहले आइतबार कार्यकक्षमै कुटपिट गरेको हो ।
विगत १८ वर्षदेखि कार्यलयमा कार्यरत कार्यालय सहयोगी शोभा पोडेको करार नवीकरणको विषयमा विवाद हुँदा कार्यालय प्रमुख श्रेष्ठमाथि कुटपिट भएको हो । १८ वर्षबाट नियमित काम गरेकी पोडेलाई श्रेष्ठले नवीकरण गर्न नमानेपछि उनको श्रीमान सहितको टोलीले कुटपिट गरेका हुन् ।
कुटपिटपछि प्रमुख श्रेष्ठले प्रहरीमा किटानी जाहेरी दिएका थिए । उनको उजुरीको आधारमा प्रहरीले शोभाको श्रीमान रमेश पोडेलाई पक्राउ गरि थप आक्रमणकारीलाई खोजिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । पक्राउ परेकालाइ ७ दिन म्याद थपिएको प्रबक्ता भण्डारीले बताए ।
उनीहरुविरुद्ध अभद्र ब्यबहारमा मुद्दा दायर भएको र घटनाको विषयमा अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।