धनगढी : जिल्ला समन्वय समिति बझाङले चालु आर्थिक वर्षमा गरेको वित्तीय सुशासन जोखिम मूल्यांकनमा छबिसपाथिभेरा गाउँपालिका पहिलो भएको छ । विभिन्न १०० वटा सूचकका आधारमा गरिएको अध्ययनमा छबिसपाथिभेराले ६७ अंक पाउँदै शीर्ष स्थान कायम गरेको हो ।
सार्वजनिक गरिएको प्रतिवेदनमा जिल्लाको बुगंल नगरपालिका भने सबैभन्दा कम अंक पाउँदै पुछारमा परेको छ । वित्तीय सुशासन जोखिम मूल्यांकनमा बुगंलले जम्मा ४६.५ अंक प्राप्त गरेको छ ।
बझाङमा दुई नगरपालिका सहित १२ स्थानीय तह छन् । छबिसपाथिभेरा पहिलो बन्द ६५ अंक सहित केदारस्युँ गाउँपालिका दोस्रो र ६४.२५ अंक सहित थलारा गाउँपालिका तेस्रो स्थानमा रहेको छ ।
कुल १०० पूर्णांकको सो परीक्षणमा स्थानीय तहको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा विषयका कुल १०० वटा सूचक रहेका हुन्छन् ।
स्थानिय तह स्वमुल्याङकन कार्यविधिले स्थानीय तहबाट तोकिएको समयमा सम्पादन भएका कार्यहरूको समग्र विश्लेषण गर्दै स्थानीय तहहरूको सबल पक्ष तथा सुधारात्मक पक्षहरूको पहिचान गर्दै सेवा प्रवाहमा सुधार ल्याउन सहयोग गरेको छ ।
प्रत्येक विषयगत क्षेत्रका लागि निश्चित अंकभार तोकिएको छ । सेवा प्रवाह क्षेत्रलाई सबैभन्दा बढी १६ तथा सहकार्य तथा समन्वय क्षेत्रलाई सबैभन्दा कम ६ अंक राखिएको छ ।
यसैगरी अन्य विषयगत क्षेत्रहरू क्रमशः संगठन तथा प्रशासनलाई ९, शासकीय प्रबन्धलाई ८, वार्षिक बजेट तथा योजनालाई ११, वित्तीय तथा आर्थिक व्यवस्थापनलाई ११, न्यायिक कार्यसम्पादनलाई ७, भौतिक पूर्वाधारलाई १३, सामाजिक समावेशीकरणलाई १० र वातावरण तथा विपद् व्यवस्थापनलाई ९ गरी जम्मा १०० अंकभार रहेको छ ।