धनगढी : बैतडीस्थित जिल्ला अस्पतालभित्र अध्यक्षका नातेदार (भदाहरु) ले बबाल मच्चाएको पाइएको छ। बैतडी जिल्ला अस्पताल विकास समितिकी अध्यक्ष एवं एमाले नेतृ पार्वती भट्टका २ भदाले केही दिन अगाडि अस्पतालमा बबाल मच्चाएको जिप्रका बैतडीका डीएसपी दिपक गिरीले जानकारी दिए।
उनीहरुले राति साढे ९ बजे अस्पतालको पहिलो तल्लामा हङ्गामा मच्चाएका हुन्। डीएसपीका अनुसार पार्वतीका भदाहरु मेलौली नगरपालिका–२, सलेनानिवासी कपिल भट्ट र पारस भट्टले मदिरा सेवन गरेको अवस्थामा बबाल मच्चाएका हुन्।
कपिल कैलाली बहुमुखी क्याम्पस धनगढीको पनि स्ववियु सदस्यसमेत हुन्। भट्टद्वयले मदिराको नशामा लठ्ठिएर अस्पतालमा सो दिन प्रहरी नै गएको थियो। जसको भिडिओसमेत महेन्द्रनगरपोष्टलाई प्राप्त भएको छ, जसमा एक जना वरिष्ठ सईले भट्टद्वयलाई सम्झाइरहेको देखिन्छ। तर, तीमध्ये एक जना (पारस) ले तीन क्वार्टर पिएको स्वीकारेका छन्।
झुम्म भएका पारस भन्छन्, ‘मैले तीन क्वार्टर खुकुरी रम खाएको छु। १८ सय रुपैयाँ खर्च गरेको छु।’ त्यो बेला अध्यक्ष भट्ट बाहिर गएकी थिइन्। उनीहरूले मदिराको तालमा अध्यक्षको निवास छिर्न खोज्दा बबाल भएको प्रहरीको भनाई छ।
अस्पतालमा समेत रक्सी खाएका उनीहरुले क्वार्टरमा समेत रक्सी बोकेर लगेका थिए। उनीहरूले त्यत्रो लफडा गरेपनी प्रहरीले भने कुनै कारबाही गरेको छैन। नेताबाटै दबाब आएर कारबाही नभएको बुझिएको छ।
उता, बैतडीका डीएसपी गिरीले भने उनीहरुले अस्पताललाई क्षति पु¥याउने कार्य नगरेकाले कारबाही नगरिएको र त्यहीँ वडाका प्रतिनिधि राखेर मेलमिलाप गरिएको बताए।
यस्तै स्वास्थ्य संस्थाजस्तो संवेदनशील स्थानको शान्ति भंग पार्ने उक्त घटनालाई ढाकछोप गर्न प्रहरी नै लागेको अस्पतालका कर्मचारीहरुको आरोप छ।