डडेल्धुरा : डडेल्धुरा अस्पतालमा ‘पेनलेस डेलिभरी’ सेवा सुरु भएको छ। उक्त प्रविधिलाई ‘एपिड्युरल एनेस्थेसिया’ भनिन्छ।
बिहीबार पहिलोपटक परशुराम नगरपालिकाकी मिना गिरीले सोही प्रविधिबाट बच्चा जन्माएकी थिइन्। त्यस्तै शुक्रबार गन्यापधुरा गाउँपालिकाकी मनीषा बोहराले प्रसूति पीडाविनना नै सोही विधिबाटै बच्चा जन्माएकी छिन्।
सोही प्रविधिबाट बोहराको बच्चालाई जन्म दिनका लागि डडेल्धुरा अस्पतालमा एनेस्थेसियोलोजिस्ट डा. रोमन कार्की र प्रसुती रोग विशेषज्ञ डा. स्मृति शाहीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको थियो।
एपिड्युरल एनेस्थेसियामार्फत बच्चा जन्माउँदा निकै सहज हुने रहेछ,’ बोहराले भनिन्, ‘प्रसव पीडा नै नहुने रहेछ। अन्य महिलालाई पनि यो प्रविधि प्रयोग गर्न आग्रह गर्दछु।’
पेनलेस डेलिभरीबाट बच्चा जन्माउँदा आमाले सहनुपर्ने पीडा कम हने डडेल्धुरा अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. कार्कीले बताए। ‘पेनलेस डेलिभरीमा एपिड्युरल एनेस्थेसियाका माध्यमबाट बच्चा जन्माउने गरिन्छ। यस्तो डेलिभरीका माध्यमले सहनुपर्ने १७–१८ घन्टाको पीडा टर्छ। यसका लागि मेरुदण्डको बीचबाट इन्जेक्सन दिइन्छ। यस्तो इन्जेक्सनले शरीर चल्छ तर दुख्दैन’ उनले भने।
उनका अनुसार यस प्रविधिमा एकपटक सुई दिएर डेलिभरी नहुन्जेलसम्म त्यहीं क्याथेटर राखिन्छ र त्यसमा औषधि थपिरहन सकिन्छ। डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाका अनुसार बिहीबार र शुक्रबार गरेर पीडारहित प्रसव अर्थात एपिड्युरल एनेस्थेसियामार्फत डडेल्धुरा अस्पतालमा दुई महिलाले बच्चा जन्माइसकेका छन्।
एपिड्युरल एनेस्थेसिया गर्दा शल्यक्रिया नगरी बच्चालाई जन्म दिने गरिन्छ।