धनगढी : कञ्चनपुरमा नहरमा युवककाे शव भेटिएको छ। मृत भेटिनेमा भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट रहेको छन्।
बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा आज (मंगलबार) बिहान भेटिएको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।
आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट हराइरहेका थिए। उनले बोक्ने मोबाइल ‘स्विच अफ’ थियो। उनी फेला नपरेपछि परिवारले खोजबिनका लागि प्रहरीमा उजुरी दिएको थियो।
उनको हुलिया सार्वजनिक गरेर भारततर्फ गएको आशंकामा गड्डाचौकी नाकाको सीसीटीभी हेरिएको थियो। उनी फेला परेका थिएनन्।
तर, आज महाकाली सिँचाइको मूल नहरमा बोराभित्र उनको शव भेटिएको डीएसपी डाँगीले जानकारी दिए।
पीडित परिवारका अनुसार चन्द्र एक साताअघि भारतबाट घर फर्किएका थिए। उनी आफन्तको बिहेका लागि घर आएका हुन्।
त्यसअघि उनी मलेसियामा काम गर्थे। नेपाल आर्मीमा कार्यरत मृतक बिष्टकि श्रीमती शान्ति सेनामा सुडानमा छिन्। उनीहरूकी २ वर्षीया छोरी छन्।
पीडित परिवारले चन्द्रको हत्या गरेर नहरमा फालेको आशंका गरेको छ। प्रहरीले शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
भीमदत्त नगरपालिका-५ का दीपक जोशी र भरत चन्दलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।
महाकाली अस्पतालमा पोस्टमार्टम भैरहेको र थप अनुसन्धान भैरहेको डीएसपी डाँगीले बताए।
हेर्नुहोस् भिडिओ :
https://fb.watch/qtgL7yExRn/?mibextid=Nif5oz