धनगढी : खेलकुद परिषद् सुदूरपश्चिमका सदस्य सचिवमाथि छानबिन प्रक्रिया थालिएको पाइएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सदस्य सचिव दिपक सिंहमाथि छानबिन प्रक्रिया थालिएको जनाएको छ।
तत्कालीन नेकपा माओवादी केन्द्रका मन्त्री सामाजिक विकास मन्त्री झपट साउद भएकै बेलादेखि सिंहमाथिको छानबिन र सामान्य कारबाही प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका निमित्त सचिव गणेश सिंहले जानकारी दिए।
उनका अनुसार कारबाहीको प्रक्रियामा पहिलोपटकका लागि मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको र मन्त्रालयलाई जवाफ पनि प्राप्त भैसकेको छ। तर, जवाफका विषयमा भने अहिले तत्काल कुनै अध्ययन, छानबिन तथा छलफल एवं थप प्रक्रिया अगाडि नबढाइएको सिंहले बताए।
यस्तै तत्कालीन मन्त्री साउदले पनि सदस्य सचिव सिंहलाई तत्कालीन समयमा आफू मन्त्री भएकै बेला कञ्चनपुरको महेन्द्रनगरमा गरिएको मुख्यमन्त्री कपको हिसाबकिताबमा गडबड भएको भन्दै स्पष्टीकरण सोधिएको महेन्द्रनगरपोष्टलाई बताए। त्यस्तै खेलकुदको विषयमा जिल्लाहरुमा भएको र रहेको विवाद र जिल्लाहरुमा समिति अपूर्ण रहेको विषयलाई पनि स्पष्टीकरणमा जोडिएको साउदले बताए।
सिंहले दिएको जवाफमाथिको थप प्रक्रिया भने अब आउने मन्त्रीले अगाडि बढाउने मन्त्रालयले जनाएको छ। केन्द्रमा तत्कालीन नेपाली काँग्रेससँगको गठबन्धन भत्किएर एमालेसहितको नयाँ समीकरण बनेपछि सुदूरपश्चिममा माओवादीका सामाजिक विकास मन्त्री साउद बर्खास्तीमा परेका थिए।
उनी बर्खास्त भएपछि स्पष्टीकरणको अध्ययन नै अलपत्र बनेको बताइएको छ। हाल खेलकुद परिषद् सुदूरपश्चिमका सदस्य सचिव रहेका सिंह नेकपा एकीकृत समाजवादी निकट हुन्।