काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका सहरी विकास मन्त्री आउँदा आउँदै विवादित बनेका छन्। मन्त्री बनेपछि सुरक्षा निकायबाट जानकारी लिएको भन्दै सार्वजनिक गरेपछि उनी विवादमा मुछिएका हुन्।
नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयको नेतृत्व गरिरहेका छन्। उनी उपप्रधानमन्त्री पनि हुन्।
तर, मुलुकको शान्ति सुरक्षा र समग्र गृह प्रशासन चलाउने जिम्मेवारी रहेको गृह मन्त्रालयलाई ओभरट्याक गर्दै सिंहले सुरक्षा निकायका प्रमुखबाट ब्रिफिङ लिएका छन्। उनको यो सुरुवाती कदमलाई निकै आलोचना गरिएको छ।
किनकी नेपाली काँग्रेसकै अर्का नेता रमेश लेखक गृहमन्त्री हुन्। उनले शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिने र आवश्यक रणनीति बनाउनुपर्ने हुन्छ।
तर,उदेकलाग्दो रुपमा सहरी विकास मन्त्रालयको नेतृत्व गर्ने सिंहले तीन वटै प्रहरी संगठनका प्रमुखलाई भेटेर मुलुकको समग्र शान्ति सुरक्षाको अवस्थाबारे चासो राखेकोमा खिसिट्युरी थालिएको छ।
त्यतिमात्र होइन, उनी आफैँले भेटघाटको फोटो फेसबुकमा हालेर सगौरव यसबारे जानकारी गराएका हुन्।
‘सिंहदरबारस्थित मन्त्रालयमा बधाई दिन आउनुभएका तीन वटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक,सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसंग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु’, सिंहले फेसबुकमा लेखेका छन्।
नेपाल प्रहरीका आइजी वसन्त कुँवर, सशस्त्रका आइजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा हिजो उपप्रधानमन्त्री सिंहलाई भेट्न मन्त्रालय पुगेका थिए। बधाई दिन भन्दै बुके लिएर सिंहदरबार छिरेका उनीहरु केहीबेर कुराकानी गरी बाहिरिए।
गृह मन्त्रालय मातहतको प्रहरी संगठनका प्रमुखहरुलाई बोलाएर सुरक्षा ब्रिफिङ लिएँ भनेपछि सिंहको आलोचना भैरहेको छ। त्यस्तै, बधाई दिने नाममा अर्कै मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीलाई भेट्न लाइन लागेर गएका प्रहरी प्रमुखहरुमाथि व्यक्तिगत स्वार्थका लागि चाकडी गरेको आरोप लागेको छ।
प्रधानमन्त्री र गृहमन्त्री बाहेक अरुले यसरी सुरक्षाको बारेमा ब्रिफिङ लिने चलन छैन।
स्रोतका अनुसार गृहमन्त्री हुन चाहेका सिंहलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सहरी विकास मन्त्री बनाइदिएका हुन्। त्यसमा उनी असन्तुष्ट छन्।