धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ स्वास्थ्य समस्याको कारण देखाउँदै काठमाडौँबाट नफर्किएपछि सरकारले पठाएको पत्र काठमाडौं पठाइएको छ ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रममा काठमाडौँ गएका प्रदेश प्रमुखले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको सिलबन्दी पत्र उतै पठाइएको हो । बिहीबार उक्त पत्र काठमाडौँ पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २९ असारमा प्रदेश प्रमुखलाई प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने सिफारिस गरिएको जनाएको छ तर प्रदेश प्रमुख उक्त सिफारिसलाई वेवास्ता गर्दै काठमाडौँ हिडेको भन्दै सरकारले उनको भूमिकामाथि प्रश्न उठाएको छ ।
प्रदेश प्रमुखको कार्यालयले भने उनी काठमाडौँ उडिसकेपछि मात्र सरकारको पत्र प्राप्त भएको बताउँदै आएको छ । राजनीतिक समीकरण फेरिएपछि २० असारमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् ।
एमाले सरकारबाट बाहिरिएपछि अगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेट समेत पारित हुन नसक्दा प्रदेश नै बजेट शून्यतामा गएको छ । मुख्यमन्त्री सोडारी अध्यायदेशबाट बजेट ल्याउने सबै तयारी पूरा भइसकेको तर प्रदेश प्रमुखले जारी गर्न मात्र बाँकी रहेको बताउँदै आएका छन् ।