काठमाडौँ : नेपाल प्रहरी (जनपद समूहतर्फ) र सशस्त्र प्रहरीमा ठुलो सङ्ख्यामा उच्च अधिकृतहरू अवकाशमा जाँदैछन्। २०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेकाहरू भदौ १५ बाट अवकाशमा जान लागेका हुन्।
माओवादीले २०५२ सालमा सशस्त्र विद्रोह सुरु गर्दा प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएर उनीहरू तालिम गर्दै थिए। १०५ टोली भनेर चिनिने उनीहरूमध्ये केही सशस्त्रमा समाहित भए। युद्धमा लडेका उनीहरू ३० वर्षे सेवा अवधि पुरा गरेर संगठनबाट बिदा हुन लागेका हुन्।
असईमा भर्ना भएका उनीहरूले पछि प्रहरी निरीक्षकमा नाम निकालेर डीआईजीसम्म भएका थिए। यो टोलीमध्ये सशस्त्र विद्रोहमा १५ जनाले ज्यान गुमाए। काठमाडौँ, भरतपुर र विराटनगरमा तालिम गरेका सो टोलीमा ४३२ जना थिए।
नेपाल प्रहरीतर्फ बागमती प्रदेशका डीआईजी विष्णु कुमार केसी र ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) सहित ९० जना अवकाश हुँदै छन्। अवकाशमा जाने एसएसपीहरूमा दिनेशराज मैनाली, बेलबहादुर पाण्डे, रवि पौडेल, जीवन श्रेष्ठ, किसन सिंह थापा, रेवती ढकाल, चन्द्रदेव राई, नवीन राई, रवीन्द्र रेग्मी, दिल्लीराज विष्ट र वीरबहादुर ओली छन्।
प्रहरी उपरीक्षक (एसपी) हरू अवदेश विष्ट, कृष्ण प्रसाईं र हिराबहादुर पाण्डेसहित अवकाशमा जाँदै छन्। प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित अवकाश हुनेमा प्रहरीतर्फ ९० जना छन्।
सशस्त्रका दुई डीआईजीसहित १८ जना अवकाशमा जाँदै
सशस्त्र प्रहरीमा डीआईजीहरू अभि खत्री र दुर्गा भट्टराई पनि अवकाशमा जाँदै छन्। १०५ टोलीमा भर्ना भएर सशस्त्रमा गएका खत्री अहिले लुम्बिनी प्रदेशस्थित विन्ध्यवासिनी बाहिनीका प्रमुख छन्।
नेपाल प्रहरीबाट सशस्त्रमा आएका १८ जना अवकाशमा जान लागेको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले बताए। सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्व भट्टराई र १५ जना डीएसपीहरु अवकाश हुँदैछन्।
अवकाश हुन लागेका प्रहरी अधिकृतहरू ५० देखि ५२ वर्ष उमेर समूहका छन्। ३० वर्षे सेवा अवधिका कारण कम उमेरमै उच्च अधिकृतहरू अवकाशमा जाँदा दुवै संगठनले क्षमता र अनुभवले खारिएका अधिकृतहरू गुमाउन लागेको बताइएको छ।
लामो समयदेखि ३० वर्षे सेवा अवधि हटाउने बहस चले पनि त्यसबारे राजनीतिक नेतृत्वमा सहमति भएको छैन।