धनगढीः भीषण वर्षाको आकलन भई रेडअलर्ट जारी भएकामध्ये सुदूरपश्चिमका दुईसहित ४२ पहाडी र हिमाली जिल्लामा सरकारले रात्रिकालीन बस चलाउन रोक लगाएको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रातको समयमा यात्रा गर्दा बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेका पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय गरेको हो।
मौसम पूर्वानुमान महाशाखाले यसअघि विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म भीषण वर्षाको चेतावनी दिइसकेको छ भने सात प्रदेशका ५६ जिल्लामा रेडअलर्ट जारी गरेको छ। प्राधिकरणले तराईमा भने रात्रिकालीन बस चलाउन रोक लगाएको छैन।
कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउनेछैनन्।
त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ।
कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रिबस चलाउन रोक लगाइएको छ।
प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार रेडअलर्ट जारी भएका जिल्लामा असोज ११ र १२ गते रात्रिबस नचलाउन गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सर्कुलर जारी भइसकेको छ। गत असारमा चितवनको सिमलतालमा पहिरोले दुई रात्रिबस त्रिशूलीमा बगाएपछि सरकारले रेडअलर्ट जारी भएका जिल्लामा रात्रिबस नचलाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन हुँदै आएको छ।
प्राधिकरणले आगामी आइतबारसम्म धान नकाट्न अनुरोध गरेको छ भने काटिसकेको भए भित्र्याउन भनेको छ। त्यस्तै, तराई र मधेशमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न अनुरोध गरेको छ।