धनगढीः कैलालीको अत्तरियामा रहेको पदमा अस्पतालले मनपरी शुल्क लिएको आरोप लागेको छ। अस्पतालले प्रोसिडर चार्जका नाममा मनपरी शुल्क लिने गरेको गुनासो गरिएको हो।
नर्सिङ चार्ज र डाक्टरको राउन्ड चार्ज लिएर पनि पद्मा अस्पतालले बिरामीबाट प्रोसिडर चार्ज भन्दै अतिरिक्त रकम लिने गरेको पाइएको हो।
अस्पतालहरुले कुनै बिरामीको शल्यक्रिया गर्नुपर्ने अवस्थामा प्रोसिडर चार्ज लिने गरेका छन् तर पद्यमा अस्पतालले भने बिरामीको शल्यक्रिया नगरेरै उक्त शुल्क लिने गरेको गुनासो गरिएको छ।
एक दिन अस्पताल भर्ना भएर थप उपचारका लागि भारत गए पनि पद्यमा अस्पतालले प्रोसिडर चार्ज भन्दै १० हजार रुपैयाँ अतिरिक्त शुल्क लिएको पाइएको छ। मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका गोदावरी नगरपालिका–१ बिजौराका हरिश चौधरीबाट पनि १० हजार शुल्क लिइएको छ। दुर्घटनामा परेर भाइको खुट्टा भाचिएको बताउँदै उनले शल्यक्रिया गर्न डाक्टरको चार्ज मात्र ९० हजार रुपैयाँ लिन खोजेपछि थप उपचारका लागि भारत लगिएको बताइएको छ।
जबकी अस्पतालले चौधरीबाट भर्नां, नर्सिङ, बेड तथा डाक्टरको राउन्ड चार्ज भनेर तीन हजार रुपैयाँ लिइसकेको थियो। यता, अस्पतालले भने प्रोसिडर चार्जका नाममा जथाभावी असुली भइरहेको आरोपमा सत्यता नभएको दाबी गरेको छ। अस्पतालका प्रमुख डाक्टर नरबहादुर मौनीले अस्पतालमा बिरामी आइसकेपछि ड्रेसिङ, टाका लगाएपछि लिइने शुल्कलाई प्रोसिडर चार्ज भनिने गरेको बताए।