काठमाडौं: नेपाल प्रहरीभित्र बदनामको उपमा पाएकी निलम्बित एवं फरार इन्सपेक्टर बिनुकुमारी शाही अझै पक्राउ परेकी छैनन्। निकटस्थ स्रोतका अनुसार उनी नेपालभित्रै प्रहरी सेटिङमा लुकेर बसेकी छन्।
बेलाबखत फरारै रहेको अवस्थामा उनले प्रहरी, प्रशासनलाई चुनौती दिनेगरी सामाजिक सञ्जालमा सक्रियता देखाएपनी पछि भने चुप बसिन्।
उता प्रहरीले भने सिआईबीमार्फत अनुसन्धान भ्याइएको र थप प्रक्रिया जारी रहेको जनाएको छ। इन्सपेक्टर शाही उनै मान्छे हुन्, जो हनि ट्रयापिङवाला गिरोहसँग मिलेर असुलीमा मुछिएकी थिइन्।
अहिले उनीमाथिको अनुसन्धान सकिएर फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पुगेको छ। तर प्रहरी सेटिङदेखि प्रहरीबाट जोगाउन समेत चलखेल भएकोमा अहिले पनि उनलाई जोगाउने खेल जारी छ।
स्रोतका अनुसार सोहीकारण प्रहरीले प्रतिवेदन बुझाएको ५ दिन हुँदा समेत सरकारी वकिल कार्यालयमा मुद्दा रोकेर राखिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गत मंगलबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरमा बुझाएको थियो। तर, आजसम्म पनि मुद्दा दायर हुन सकेको छैन। जबकी संगठित अपराध मुद्दाको हदम्यादको ६० दिन समेत पूरा भइसकेको छ।
इन्स्पेक्टर शाही ललितपुरको भैंसेपाटी प्रभागको प्रमुख हुँदा एक व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेर छाडिदिएको थियो।
परिसरले सूचना पाएपछि झिकाएर अनुसन्धान थाल्दा हनि ट्रयापिङ गिरोहसँग इन्स्पेक्टर मिलेको पुष्टि भएको थियो।
जसमा गिरोहका नाइके ताज इस्लामसहित सुष्मा विक, भिमादेवी थापा तथा प्रहरी हवल्दार महेन्द्र हमाल पक्राउ परेका थिए।
इन्स्पेक्टर शाही र गिरोहका सदस्य दर्शन पोखरेललाई फरार प्रतिवादीका रुपमा मुद्दा दायर गर्न सिआइबीले सिफारिस गरेको थियो।
यो प्रकरणमा मुछिएका एसपी कमल थापामाथि भने सिआइबीले थप अनुसन्धान गरिरहेको छ। इन्स्पेक्टरलाई समेत जोगाउन एसपी थापा लागेका छन्।
उता सरकारी वकिल कार्यालयले भने सीआईबीको प्रतिवेदन अध्ययन गरेर मुद्दा दर्ताका लागि तयारी थालेको जनाएको छ।
सीआईबीले अनुसन्धान गर्नुअघि घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो।
ललितपुरको अनुसन्धानले भैंसेपाटीको घटनामा पक्राउ परेका इटहरीका ताज इस्लाम र दर्शन पोखरेल समूहले विभिन्न ठाउँमासमेत ललितपुरका एक व्यवसायीलाई ‘हनि ट्रयाप’मा पारेर रकम असुल गरेको देखिएपछि थप अनुसन्धानका लागि अनुसन्धान प्रतिवेदन सीआईबी बुझाएको थियो।
प्रतिवेदनसहित पक्राउ परेका आरोपीहरुलाईसमेत सीआईबीले छुट्टै अनुसन्धान गरेको थियो। तर बिनुलाई सीआईबीले समेत पक्राउ गर्न सकेन। यद्यपी पक्राउ परेका चारजना बाहेक फरार इन्स्पेक्टर शाही र दर्शन पोखरेललाई मुद्दा चलाउन सिफारिस गरिएको छ।
दर्शनसँग निकट सम्बन्ध देखिएका प्रहरी उपरीक्षक एसपी कमल थापाको हकमा भने सामान्य बयान कागजमात्रै भएको छ। पक्राउ परेका ताजको मोबाइल फेला नपर्दा र इन्स्पेक्टर शाहीको मोबाइलको समेत डिजिटल फरेन्सिक जाँच नहुँदा उनको कुनै संलग्नता नदेखिएको हो।
शाहीसहित ६ जनालाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो। सोही मुद्दा चलाउनुपर्ने राय सीआईबीले दिएको छ।
सीआईबी स्रोतले भने एसपी थापाको हकमा अनुसन्धान जारी रहेको र केही खुले कानुनी दायरामा ल्याइने बतायो। सो प्रकरणमा छ जना प्रतिवादीहरुमध्ये इन्स्पेक्टर शाही, दर्शन पोखरेल भने फरार सूचीमा छन्।
भैंसेपाटी प्रहरी प्रमुख हुँदा शाहीकै गाडी चालक सहायक हवल्दार महेन्द्र हमाल, सुष्मा विक, ताज इस्लाम र भिमादेवी थापा भने प्रहरीको थुनामा छन्। ताज र सुस्मा असोज ७ गते नै पक्राउ परेका हुन्।
सुनसरीको एक होटलमा वेटरको रूपमा काम गर्दै आएकी सुस्मालाई ‘हनि ट्रयाप’का लागि ताज र दर्शन पोखरेलको योजनाअनुसार व्यवसायीसँगको सम्पर्कमा पुगेकी थिइन्।
पछि व्यवसायीबाट रकम असुल गर्न आफू अनकूल ठाउँको खोजी गरेका थिए। त्यसपछि उनीहरू प्रहरी प्रभाग भैंसेपाटी पुगेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ।
र, यो पनि: फरार इन्सपेक्टरलाई मुद्दा चलाउन सिआईबीद्वारा सिफारिस, एसपीमाथि थप अनुसन्धान