काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ को मस्यौदालाई स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गर्न गृहमन्त्री रमेश लेखकले हस्ताक्षर गरेका छन्। केही दिन अगाडि लेखकले सो हस्ताक्षर गरेका हुन्।
गृहमन्त्री निकट स्रोतका अनुसार प्रहरी र सशस्त्रमा प्रहरी महानिरीक्षक (आईजीपी) को उमेरहद ६० वर्षे तोक्ने विधेयकको मस्यौदामा गृहमन्त्री लेखकले हस्ताक्षर थालेका छन्।
दुवै संगठनमा सेवा उमेर ६० वर्ष र तल्लो दर्जाले १६ वर्षे सेवापछि अवकाश लिन पाउने गरी प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानून ६९ वर्षपछि नयाँ निर्माण हुन लागेको बताइएको छ। गृहमन्त्री लेखकको हस्ताक्षरपछि विधेयकको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश हुनेछ भने मन्त्रिपरिषद्को स्वीकृतिपछि विधेयक संसदमा दर्ता हुनेछ।
अहिले प्रहरी र सशस्त्रमा उमेरहद अधिकतम ५८ वर्ष छ । नयाँ मस्यौदामा पेन्सनको हकमा सशस्त्रको वरिष्ठ हवल्दारदेखि तलको १६ वर्षमा पेन्सन हुने, सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि वरिष्ठ नायव निरीक्षकसम्मको १८ वर्षमा र त्यसमाथिकाको २० वर्षमा पेन्सन अवधि हुने व्यवस्था गरिएको छ।
उमेर हदमा महानिरीक्षकको ६० वर्ष, एआईजी र डीआईजीको ५८ वर्ष, डीएसपी र प्रहरी निरीक्षकको ५७ वर्ष, वरिष्ठ सईदेखि सहायक निरीक्षकसम्मको ५४ वर्ष, वरिष्ठ हवल्दारदेखि जवानसम्मको ५१ वर्ष र कार्यालय सहयोगीको ५५ वर्ष उमेर हद कायम गरिएको छ।