धनगढी: अछाममा कार्यरत ४५ वर्षीय असई किसनबहादुर चन्द अहिले उपचाररत छन्। उनी आफैंले आफैंलाई गोली चलाएर उपचारमा गएका हुन्।
जिल्लाको भैरवस्थान प्रहरी चौकी इन्चार्जसमेत रहेका उनले बिहीबार राति आफैँमाथि गोली चलाएका थिए।
प्रहरी वृतमा २४ घण्टे एवं मदिराप्रेमी कर्मचारीको उपनाम पाएका उनै असई चन्दले कैलालीमा कार्यरत हुँदा इन्सपेक्टरलाई पनि पेस्तोल ताकेको खुलेको छ।
चन्द २०७६/७७ को कोराना महामारीका बेला जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए। सोही बेला उनले आफ्ना कमान्डर समेत रहेका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीलाई पेस्तोल ताकेका थिए।
चन्दले मदिरा सेवन गरेर जोशीलाई गोली ताकेका थिए। त्यसपछि उनलाई कारबाही गर्न खोजेपनी माफी मागेर जोगिएका थिए।
उनै चन्दले बिहीबार राति भने आफ्नै छातिमा पेस्तोलले हानेका छन्। तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका चन्द आफैले बोकेको पेस्तोल बाँया छातीमा प्रहार गरेपछि घाइते भएको बताइएको छ।
अहिले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनाबारे छानविनका लागि गर्न डोटीका एसपी बिनोद शर्मा र इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा समिति बनाइएको छ।
उनले व्यक्तिगत कारणले गोली हानेको भनिएपनी मदिराकै कारण घटना घटेको स्रोतले जनाएको छ।
र, यो पनि: अछाममा असईले किन चलाए आफ्नै छातिमा पेस्तोल ? डोटीका एसपीले छानबिन गर्दै