धनगढी: डडेल्धुराको परशुराम नगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उनले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएको भन्दै मुद्दा दायर गरिएको हो।
अहेव रमेश बोहराले विसं २०७७ साल भदौ ११ गतेदेखि हालसम्म नक्कली प्रमाणपत्र बुझाएर पदको लाभ लिएको अनुसन्धानबाट खुलेको छ। सोही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धि मुद्दा दायर गरेको हो।
उनीमाथि भ्रष्टाचार निवारण ऐनको दफा १६ को उपदफा १ बमोजिमको कसुरमा शुक्रबार विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए।
बोहराले कम्युनिटि मेडिसिन असिस्टेन्ट तहको झुटा तथा नक्कली प्रमाणपत्र पेस गरेको खुलेको हो। बोहरा परशुराम नगरपालिका वडा नं ८ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रको अहेव पदमा कार्यरत थिए।