काठमाडौं : सशस्त्र प्रहरी बलमा एक अतिरिक्त महानिरीक्षक (एआईजी) र एकजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहितको दरबन्दी थप्ने प्रस्ताव गरिएको छ। सशस्त्र प्रहरीमा दरबन्दी थप्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न प्रस्ताव गरिएको हो।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयको प्रस्ताव गृह मन्त्रालयले राय सहमति लिन अर्थ मन्त्रालयमा पठाएको हो। सशस्त्रमा हाल ३७ हजारभन्दा बढी दरबन्दी छ। अर्थ मन्त्रालयको सहमति आएमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वको समितिले ओएण्डएम गरेर स्वीकृतिका लागी मन्त्रिपरिषद्मा पठाउनुपर्ने कानुनी व्यवस्था छ।
सशस्त्र प्रहरीले करिब ६ हजार नयाँ दरबन्दी थप्नेगरी आन्तरिक गृहकार्य गरिरहेको छ। नयाँ दरबन्दी थप भएमा सिमानामा बोर्डर आउट पोस्ट (बिओपी) थप्न सकिने सशस्त्रका अधिकृतहरू बताउँछन्।
गृहसुधार योजना अन्तर्गत नै बिओपीको सङ्ख्या ५ सय पुर्याउने लक्ष्य राखिएको छ। हाल उत्तरतर्फ १० वटा र दक्षिणतर्फ २४४ वटा बिओपी छन्। सिमानामा बिओपीको सङ्ख्या थप्नुपर्ने अवस्था रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
विपद् व्यवस्थापनमा पनि प्रभावकारी नतिजा दिन दरबन्दी थप्नुपर्ने सशस्त्र प्रहरीको प्रस्ताव छ।
यस्तै उता सशस्त्र प्रहरी बलमा एउटा अतिरिक्त महानिरीक्षक थप्न डीआईजी किशोर प्रधानले लबिङ गरिरहेका छन्। प्रधान अहिले बलम्बुस्थित ९ नम्बर पशुपति बाहिनीमा कार्यरत छन्। नयाँ दरबन्दी ल्याएर आफू एआईजी हुन उनले लबिङ गरिरहेको बताइएको छ।
बढुवा नभएमा उनि २०८१ माघमा ५ वर्षे पदावधि पुरा गरेर अवकाशमा जान्छन्। त्यसैले उनी शक्तिकेन्द्रमा दरबन्दी थप्ने निर्णय गराउन लागिपरेका हुन्। सशस्त्रमा अहिले ३ जना एआईजी छन्। सीमा, कार्य, मानवस्रोत विभागको कमान्ड एआईजीले गर्छन्। मानव स्रोत विभागलाई फुटाएर प्रशासन विभाग छुट्टै गठन गर्नुपर्ने भन्दै प्रधान दौडामा लगेका हुन्।
आईजीपी शैलेन्द्र खनाल हुँदा एआईजीको सङ्ख्या ५ बाट घटाएर ४ मा झारिएको थियो। हचुवामा एआईजीको सङ्ख्या थपघट गर्न नहुने सशस्त्रका अधिकारीहरु बताउँछन्।
उसो त सशस्त्र प्रहरीमा पटक–पटक दरबन्दी थपघट गरिँदै आएको छ। एकपटक ६ जनासम्म एआईजीको दरबन्दी राखिएको थियो। तर पछि फेरि चारवटा विभागलाई गाभेर दुईवटा मात्रै कायम गरिएको हो।
उता डीआईजीको हकमा भने सशस्त्र प्रहरीमा भदौ १६ गतेदेखि नै दुईजनाको दरबन्दी रिक्त छ। तर ती दरबन्दीमा बढुवा सिफारिस भने रोकिएको छ। बढुवाका लागि एकै ब्याचका दुईजना मात्रै प्रतिस्पर्धी भए पनि पछिल्लो ब्याचबाट दीपेन्द्र कुँवरलाई बढुवा गर्नका लागि दरबन्दी थप्न लागिएको बताइन्छ।
गएको भदौ १६ गते ३० वर्षे सेवा अवधिका कारण डीआईजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई अवकाश भएका थिए। कुँवरभन्दा अगाडिको टोलीबाट डीआईजी बढुवा हुने र उनी छुट्ने देखिएपछि सिसं २ को टोलीका कुँवरले दबाब बढाएकाले दरबन्दी थपको तयारी गरिएको हो।