धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका मर्निङ ग्लोरी स्कुलका सञ्चालक पृथ्वीराज भट्टले आफ्नी श्रीमतीलाई कुटेका छन्। हिजो (शनिबार) भट्टले आफ्नी पत्नी जयन्तीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन्।
घरायसी विवादका क्रममा कुटपिट गरेको भन्दै भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि परेको छ।
यसअघि पनि बेला बेला उजुरी पर्दै आएकोमा पुनः कुटपिटको उजुरी आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी उमेशराज जोशीले बताए। उनका अनुसार अहिले कुटपिटबाट घाइतेको धनगढीमा उपचार जारी छ।
हिजो कुटपिटबाट घाइते भएपछि जयन्तीको उपचारका लागि महाकाली अस्पताल लगिएकोमा उपचार सम्भव नभएको भन्दै धनगढीस्थित सेती अस्पताल ल्याइएको थियो।
उनका पतिले जयन्तीको टाउकोमा हानेको बताइएको छ। अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।