काठमाडौं: सशस्त्र प्रहरी बल नेपालको २९ नम्बर गण हेडक्वाटर ज्वालामाई दाङमा कार्यरत तत्कालीन सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा इन्स्पेक्टर छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले २९ नम्बर गण दाङबाट केही समय अगाडि राजीनामा दिएका थिए।
अनुसन्धानका क्रममा उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) अन्तर्गत हाइस्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेका थिए।
साथै उनले राष्ट्रसेवक पदमा प्रवेश गरी बढुवा भएको पाइएको आयोगको दाबी छ।