धनगढी: डोटीको आदर्श गाउँपालिका–१ मा बिहेको भोज खाएका ५७ जना बिरामी परेका छन्। नरबहादुर विककी छोरीको विवाहमा खाइएको भोजले स्वास्थ्य समस्या निम्त्याएको हो।
जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार भोजमा सुजीको हलुवा लगायतका परिकार खाएका व्यक्तिहरूमा ज्वरो आउने, बान्ता र पखाला हुने लक्षण देखिएको छ। बिरामी परेकामध्ये तीन जनाको अवस्था गम्भीर छ।
शनिबार बिरामी भएका सबैलाई स्थानीय बाँझ स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ। बिरामीहरूको रगतको नमुना सङ्कलन गरी जिल्ला अस्पताल, डोटीमा परीक्षणका लागि पठाइएको छ।
स्वास्थ्य अधिकारीहरूले विषाक्त खाना खाएको हुन सक्ने अनुमान गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
Facebook Comments Box