धनगढी: सुदूरपश्चिम विश्वविद्यालयका नाममा उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। उच्च अदालत महेन्द्रनगरको इजलास नं. २ का न्यायाधीश उज्ज्वल शुक्लाको एकल इजलासले सुदूरपश्चिम विश्वविद्यालयको कार्यालयसमेतका विपक्षीहरूमाथि अन्तरिम सो आदेश जारी गरेको हो।
बीएएलएलबीमा अध्ययनरत विद्यार्थी महेशसिंह साउद लगायतले दायर गरेको रिट निवेदनमाथि अदालतले विपक्षी विश्वविद्यालयलाई कानूनी प्रक्रिया अनुरूप १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
रिट निवेदकहरूले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्तसहित ६ जनाविरुद्ध रिट दायर गरेका थिए। सोमबार कानुन संकायतर्फ बीएएलएलबी प्रोग्रामको पहिलो ब्याचका ८ जना विद्यार्थीहरुले उनीहरूविरुद्ध रिट दायर गरेका हुन्।
उनीहरूले सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक, परीक्षा नियन्त्रक अनुराधा रोकाया, कानुन संकायका डीन भवानी चन्द ठकुरी, केन्द्रीय क्याम्सपका कोर्डिनेटर भीमबहादुर फडेरा र कैलाली बहुमुखी क्याम्पसका कोर्डिनेटर पदमबहादुर पालविरुद्ध रिट दायर गरेका थिए।
बीएएलएलबी कार्यक्रम ५ वर्षमा सकाउनुपर्नेमा ढिलाई भएको र समयमै परिक्षा नहुने भएकाले तालिका नै तलमाथि भएको भन्दै उनीहरूले रिट दायर गरेका हुन्।
जसमा उनीहरूले सातौं सेमेस्टरको परीक्षा समयमै गर्नुपर्नेमा ढिलाई भएको र २०८२ चैत्रमा कार्यक्रम सकाउन परमादेश माग गरेका थिए। त्यसपछि कारण देखाऊ आदेश जारी गरिएको हो।

र, यो पनि: सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित ६ जनाविरुद्ध रिट दायर