कञ्चनपुर: दोधाराचाँदनी नगरपालिकाले मापदण्ड विपरीत क्रसर उद्योगलाई अनुमति दिएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्। दोधाराचाँदनी–३ सुंगरखाले टोलमा सेती महाकाली मिनरल्स क्रसर उद्योग खोल्न नगरपालिकाले अनुमति दिएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन्।
नगर प्रमुख किशोर कुमार लिम्बुले ०८१ जेठ १० गते मापदण्डविपरीत उद्योगको दुरी प्रमाणित गरेर अनुमति दिएका थिए। स्थानीयहरूले विच गाउँबस्तीमा क्रसर खोल्ने निर्णय अव्यावहारिक भएको भन्दै गत माघ १८ गते नै नगरपालिकामा निवेदन दिएका थिए।
निवेदन खारेजीको माग
माघ २२ गते निवेदन दर्ता भएर कार्यपालिकामा पेश भए पनि अहिलेसम्म टुंगो नलागेको स्थानीय इन्द्रबहादुर टेरले बताए। उनले भने, “बस्तीभित्र क्रसर खोल्ने मापदण्ड छैन, तर पनि उद्योगलाई अनुमति दिइयो।”
मेयर लिम्बुले भने पालिकाले आफ्नै प्राविधिक टोली नपठाएर अन्य सरकारी निकायले प्रमाणित गरेको आधारमा अनुमति दिएको बताए। “उद्योग खोल्नुपर्छ, सबै उद्योगले के सबै प्रक्रिया पूरा गरेका छन्? आर्थिक समृद्धिका लागि उद्योग आवश्यक छ,” उनले भने।
तर, स्थानीयवासीले नगरपालिका आफैंले मापदण्डविपरीत क्रसर उद्योगको समर्थन गरेकाले यसले अन्य शंका उपशंका जन्माएको बताएका छन्। स्थानीयले आफ्नो माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।



