धनगढी: दिल्ली र नेपालको सुदूरपश्चिम जोडिएको सुन तथा धनमाल चोरीको प्रकरण नसेलाउँदै पुनः नयाँ प्रकरण सतहमा आएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीले भारतको दिल्लीबाट चोरी भएको प्रकरण अनुसन्धान गरिरहेकै बेला फेरि अर्को घटना आएको हो।
प्रहरी स्रोतका अनुसार भारतको राजस्थानस्थित जयपुरका एक भारतीय काँग्रेस नेताको घरमा चोरी भएको घटना सार्वजनिक भएको हो। स्रोतले दिएको जानकारी अनुसार ती नेताको घरमा एक साता अगाडि १ करोड भन्दा बढी मूल्यको धनमाल तथा सुन चोरी भएको हो।
चोरीमा नेपाली नागरिक (सुदूरपश्चिम) जोडिएको भन्दै नेपाल प्रहरीलाई सहयोगका लागि आग्रह गरिएको छ। जस अनुसार नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश कार्यालयको टोलीले अनुसन्धान थालेको छ।
जसमा एकजना शंकास्पद व्यक्तिलाई महेन्द्रनगरमा नियन्त्रणमा लिइएको छ भने अन्यको खोजतलास जारी छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी प्रकाश मल्लले चोरी घटनामा सुदूरपश्चिमका व्यक्ति जोडिएकोले प्रहरी अनुसन्धान तथा व्यक्तिको खोजबिनमा जुटेको जानकारी दिए।
उनका अनुसार प्रहरीलाई सूचना आउनुअगावै भारतीय एसएसबी र सशस्त्र प्रहरी बल नेपालले खानतलासी लिएकाले घटना जटिलतातर्फ मोडिएको छ। यद्यपि प्रहरीले रिकभरीको प्रयास गरिरहेको छ।
स्रोतका अनुसार चोरीमा संलग्न भएको आरोपमा भारतमै २ जना पक्राउ परेका छन् भने त्यसको र्याकेट सुदूरपश्चिममै भएकाले थप छानबिन जारी छ।
बेलाबखत यस्ता चोरीका घटनाले सुदूरपश्चिम र भारतको प्रहरीको सहकार्य हुँदै आएपनी नागरिकस्तरमा भने मर्का पर्ने गरेको छ। नेपालीले भारतमा चोरी गर्दै स्वदेश फर्केने घटना बढेपछि दुई देशका नागरिकको सम्बन्धमा पनि प्रतिकुल असर पर्ने देखिन्छ।
र, यो पनि: भारत–सुदूरपश्चिम चोरीको र्याकेट: खड्कापछि अन्य ७ जना छुटे, कसले कति तिरे ?
भारत–सुदूरपश्चिम चोरीको र्याकेट: अत्तरियाका खड्का ‘हाजिरजमानी’मा छुटे, ७ जनाको के होला ?
भारत–सुदूरपश्चिम सँगठित चोरीको र्याकेट: ‘सुनवाला’ खड्कासहित ८ जना खोरमा, प्रहरी पनि ‘टार्गेट’मा