काठमाडौँ: सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा आज (सोमबार) मुद्दा दायर गरेको हो।
नेकपा एस संसदीय दलका नेतासमेत रहेका सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ बराबरको अवैध सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार २०७४ माघ ७ देखि २०७९ फागुन १० सम्म सोडारीको तलबभत्ता, पत्नीको बचत, छोराको पारिश्रमिकलगायत ८५ लाख ५१ हजार ३३४ रूपैयाँ वैधानिक आय देखिएको साथै यस अवधिमा जग्गा खरिद, घर निर्माणलगायतमा १ करोड ९३ लाख ८९ हजार ६३७ रूपैयाँ खर्च देखिएको छ।
आम्दानी र खर्चको तुलना गर्दा सोडारीले १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ गैरकानूनीरूपमा आर्जन गरेको देखिएकाले सोबराबरको बिगो मागदाबी गरिएको छ।
उनले आयोगसमक्ष पेस गरेको सम्पत्ति विवरणमा समेत वास्तविक सम्पत्तिको लुकाएको पुष्टि भएकाले लुकाई छिपाई राखिएको सम्पत्ति जफतको दाबी गरिएको छ। अख्तियारका अनुसार निजले सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र प्रदेश सांसद हुँदा पदिय मर्यादाविपरीत कार्य गरेकाले थप सजायको माग गरिएको छ।
गैरकानूनीरूपमा कमाएको सम्पत्तिबाट श्रीमती गीता सोडारी तथा छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैङ्क मौज्दात देखिएकाले उक्त सम्पत्ति जफतका लागि दुईजनालाई प्रतिवादी बनाइएको छ।
अख्तियारले सोडारीले आर्जन गरेको शंकास्पद सम्पत्तिको एक भाग श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा राखेको पुष्टि गरेको छ। यसमा जग्गा, घर, तथा बैंक मौज्दात समावेश छन्।
त्यसैले आयोगले सोडारीसँगै श्रीमती र छोरालाई समेत प्रतिवादी बनाएर प्रचलित कानुनअनुसार सम्पत्ति जफत गर्न विशेष अदालतमा मुद्दा दायर गरेको हो। सोडारी कैलाली ४ (१) बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन्।
२०७९ साल वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारी साउन १८ गते पदबाट राजीनामा दिएका थिए। केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि सुदूरपश्चिममा सत्ता सन्तुलन बदलिँदै जाँदा उनी अल्पमतमा परेका थिए।
अख्तियारले मुद्दा दायर गरेसँगै सोडारीको प्रदेशसभा सदस्य पद स्वतः निलम्बनमा पर्नेछ। विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएपछि जनप्रतिनिधिका पद स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ।
उसो त उनकी पत्नी पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी थिइन्। २०८१ सालको असार महिनामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासबाट नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको अभियोगमा उनी दोषी ठहर भएकी थिइन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको थियो।
उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय पनि अदालतले सुनाएको थियो।
कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी राहत शिक्षिका गीताले भारतबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेकी थिइन्। बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा अध्ययन गरेको भनी उनले पेस गरेको प्रमाणपत्र नक्कली देखिएको थियो।
त्यसपछि अख्तियारले २०७९ असोज ६ गते गीता सोडारीविरूद्ध मुद्दा दायर गरेको थियो।