धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको नेतृत्व नयाँ डीआईजी डम्बर विश्वकर्माले सम्हालेसँगै घुमुवा (सादा पोसाकमा खटिने) टोलीका लागि दौडधुप व्यापक बनेको छ। अपराध अनुसन्धान समूहका नाममा गठन हुने पीआईटी टोलीका लागि प्रहरीका सई, वरिष्ठ सईहरुले दौडधुप बढाएका हुन्।
केही नयाँ तथा पुराना टोलीकै अधिकृतहरु सो दौडमा रहेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार तत्कालीन पीआईटी इन्चार्ज बासुदेव अवस्थीको बढुवा भएर इन्स्पेक्टरमा बढुवा भएपछि टोली नेतृत्वविहीन छ। अहिले आएर डीआईजीले टोली गठन प्रक्रिया थाल्ने तयारी गरेपछि दौडधुप बढेको हो।
सुदूरपश्चिमका पूर्वमन्त्री समेतले जसमा भूमिका खेलिरहेको पाइएको छ। त्यसका लागि सई तथा वरिष्ठ सईहरुले माहोल सिर्जना गरिरहेका छन्।
उसो त आउँदा आउँदै डीआईजी विश्वकर्माले घुमुवा नराख्ने दाबी गरेका थिए। तर आन्तरिक रुपमा भने उनले टोली राख्ने तयारी गरेको बुझिएको छ।
यसबीचमा घुमुवा बस्नका लागि प्रहरीभित्र एक अर्काविरुद्ध बेनामी उजुरी हाल्नेसम्मका खेल पनि भएका थिए। यदी अहिले सो क्रम सेलाएको छ।
तत्कालीन समयमा आरआइटी नामक टोली हुँदा राम्रै काम भएको भएपनी अहिलेसम्म आइपुग्दा जिल्लादेखि प्रदेशसम्मका टोलीले उठ्तिपुठ्ती गर्ने गरेको आरोपले टोलीहरु बदनाम हुने गरेका छन्।
सो टोली डीआईजी मातहत रहेर प्रदेशभर काम गर्न पाउने व्यवस्था हुन्छ। त्यसैका लागि अहिले विभिन्न कोणबाट प्रयास भैरहेको बताइन्छ।