धनगढी: कैलालीको धनगढीस्थित खुला सीमाबाट करोडौंको गाडीसहित सेक्स टोय भारततर्फ तस्करी भएको घटनाको छानबिन थालिएको छ। अस्ति भएको घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी बल नेपालको सुदूरपश्चिमस्थित वैद्यनाथ बाहिनीले समिति नै गठन गरेको हो।
स्रोतका अनुसार सशस्त्रका डीएसपी जनक राज पन्तको नेतृत्वमा बाहिनीले छानबिन समिति गठन गरेर सोधपुछ अगाडि बढाएको छ। यसैक्रममा लापरबाही गरेको भन्दै जुगेडा बिओपीका प्रमुख इन्सपेक्टर पुरन जैसीलाई कैलालीको धनगढीस्थित सशस्त्रको ३४ नम्बर गणमा तानिएको छ।
उनले तस्करी भएको गाडीसहित सामान बरामद नगरेको आरोप छ। जसक्रमा ३४ नम्बर गणका एसपी भने बिदामा थिए।
सोही बेला कैलालीस्थित धनगढीको नेपाल–भारत सीमावर्ती सुडा क्षेत्रबाट १ गाडी सेक्स टोय तस्करी भएको थियो।
सो तस्करीको गाडी भारततर्फ गौरीफन्टा कोतवाली प्रहरीले सीमा क्षेत्रबाट समातेको थियो। सूडा घाटबाट ग्राम सूडातर्फ जान लागेको बोलेरो पिकअप (UP31BT5163) बाट ७२ थान पीला प्लास्टिक बोराभित्र कागजले बेरेका १० हजार ८०० सेक्स टोय र सूडामा विजय सिंह रानाको घर नजिकै थप ६२ बोराबाट ९ हजार ३०० टोय फेला परेका थिए।
जसको अनुमानित मूल्य भारतीय रुपैयाँ २ करोड १ लाख बराबर रहेको बताइएको छ।
त्यसक्रममा २ जनालाई भारतीय प्रहरीले पक्राउ पनि गरेको थियो। पक्राउ पर्नेमा नईम खान (४५ वर्ष) र अनिल अहमद (३४ वर्ष) रहेका छन्। यस्तै विजय सिंह राना र सानू सिद्दीकी भने फरार भएको बताइएको छ।
स्रोतका अनुसार ती टोय चाइनीज भएको जनाइएको छ। सो सामान कैलालीको भजनीबाट सुखड हुँदै हसुलियाबाट जुगेडा हुँदै पारी पुगेको बुझिएको छ।
नेपाली तस्करले पारीपट्टीका एक सरदार तस्करलाई सो सामान पठाएको बताइएको छ। तर सीमा सुरक्षामा खटिने सशस्त्रको भने तस्करी नियन्त्रणमा कमजोरी देखिएकोले छानबिन थालिएको हो।
प्रहरी स्रोतका अनुसार उत्तरप्रदेश र सुदूरपश्चिम प्रदेश जोडिएको सीमानाका सुडा, बनगवाँ, कजरिया, चन्दन चौकी जस्ता सीमावर्ती मण्डीहरूबाट मादक पदार्थ, हतियारदेखि यौन सामग्रीसम्मको तस्करी नियमितरूपमा भइरहेको पाइएको छ।
र, यो पनि: धनगढीको सुडाबाट पास भयो करोडौंको अवैध सेक्स टोय, सशस्त्र कहाँ चुक्यो ?