धनगढी: कैलालीको टिकापुर नगरपालिका–७ सत्तीमा प्रहरी र एक महिलाबीच भएको भनाभन र हात हालाहालको घटना अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा ट्रेन्डिङमा रहेको छ। शनिबार दिउँसो भएको उक्त घटनाको भिडिओ सार्वजनिक भएपछि प्रहरीको भूमिका र सर्वसाधारणको व्यवहारबारे समेत बहस सुरु भएको छ।
घटनास्थलमा खिचिएको भिडिओमा राजकुमारी कुँवर शाह नाम गरेकी एक महिला स्कुटरको पछाडि बसेकी देखिन्छिन्। स्कुटर भने एक नाबालकले चलाइरहेका थिए। सुरुमा ती महिलालाई एक हवल्दारले रोकेका थिए भने विवाद भएपछि सादा पोशाकमा ड्युटीमा रहेका नेपाल प्रहरीका सई यज्ञराज पन्तले लाइसेन्स नभएको नाबालकले स्कुटर चलाएको देखेपछि उनीहरूलाई रोकेका थिए। त्यतिबेला महिला र प्रहरीबीच विवाद चर्किँदै गयो।
भिडिओमा ती महिलाले प्रहरीलाई “तँ” भनेर सम्बोधन गर्दै गालीगलौज गर्दै गएकी देखिन्छिन्। उनले आफूसँग स्कुटरको ब्लुबुक र लाइसेन्स रहेको जिकिर गर्दै प्रहरीले आफूलाई किन रोकेको भन्दै बारम्बार प्रश्न गरेकी छन्। प्रहरीले भने महिला सवार स्कुटर नाबालकले चलाएको भन्दै उनीहरूलाई रोकिएको स्पष्ट पारेका छन्।
नाबालकले आफैंले स्कुटर चलाएको कुरालाई भिडिओमै स्वीकार गरेका छन्। घटनाको क्रममा प्रहरी सईले मोबाइल निकालेर भिडियो खिच्न थालेपछि महिलाले झर्किँदै मोबाइल भुइँमा झारिदिएको दृश्य देखिन्छ। त्यसपछि अवस्था झनै तनावग्रस्त बनेको थियो। दुवै पक्ष उत्तेजित हुँदा हात हालाहालसमेत भएको भिडिओमा स्पष्ट देखिन्छ।
यस विषयमा प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक रुपमा महिलाबाटै गल्ती भएको देखिए पनि प्रहरीले हात हाल्नु गलत भएको जनाएको छ।
यसैक्रममा घटनाको छानबिन गर्न प्रहरीद्वयलाई जिल्ला तानेर डीएसपी राज कुमार सिंहको नेतृत्वमा समिति गठन गरिएको छ।
उता सामाजिक सञ्जालमा भने भिडिओ भाइरल भएसँगै ती महिलालाई तथानाम गालीको वर्षा भैरहेको देखिन्छ। कतिपयले महिला पक्षले प्रहरीलाई अपमानजनक व्यवहार गरेको भन्दै आलोचना गरेका छन् भने कतिपयले सादा पोशाकमा रहेको व्यक्तिले आफू प्रहरी हो भन्ने प्रमाण देखाएर मात्रै हस्तक्षेप गर्नुपर्ने तर्क गरेका छन्।
यद्यपि यस घटनाले नेपालमा सार्वजनिक सरोकारका विषयमा प्रहरी र नागरिकबीचको विश्वासको खाडल अझै रहेको चित्रण गरिरहेको देखिएको छ।
र, यो पनि: सुदूरपश्चिममा नयाँ डीआईजी आएपछि सत्तिको लाइन ब्रेक, सईलाई फसाउन हतकन्डा