धनगढी: सुदूरपश्चिम प्रदेश स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली जिल्ला कुल ३५ स्वर्ण पदक सहित प्रथम भएको छ। धनगढी रंगशालामा सम्पन्न प्रतियोगितामा कैलालीले १२ रजत र १० कास्य पदक समेत जित्दै उत्कृष्ट प्रदर्शन गरेको हो।
प्रतियोगितामा पहिलो स्थान हासिल गरेको कैलालीले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ।
त्यस्तै, कञ्चनपुर जिल्ला १७ स्वर्ण, १२ रजत र ११ कास्य पदकसहित दोस्रो स्थानमा रह्यो। कञ्चनपुरले नगद १५ हजार रुपैयाँ पुरस्कारसँगै ट्रफी र मेडल प्राप्त गर्यो।
७ स्वर्ण, ४ रजत र ११ कास्य पदक जितेको बझाङ जिल्ला तेस्रो भयो। उसले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो।
प्रतियोगितामा बैतडी जिल्लाले पनि राम्रो प्रदर्शन गर्दै ३ स्वर्ण, ६ रजत र ७ कास्य पदक जित्दै चौथो स्थान हासिल गर्यो।
समापन समारोहमा सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी प्रमुख अतिथि थिए। उनले विभिन्न श्रेणीमा उत्कृष्ट प्रदर्शन गर्ने जिल्ला तथा खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए।
यो प्रतियोगिता प्रदेशभरका प्रतिभाशाली विद्यालयस्तरीय खेलाडीहरूलाई खेलकुदमार्फत अनुशासन, राष्ट्रप्रेम र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिँदै आएको छ।