धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई वीरबहादुर चन्दमाथि खुलेआम कुटपिट भएको छ। केही दिन अगाडिमात्रै चन्दमाथि चौकी नजिकै दिनदहाडै कुटपिट एवं आक्रमण भएको हो।
स्रोतका अनुसार सामान चेकजाँचको क्रममा चन्दमाथि आक्रमण भएको हो।
यो घटनाले सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणमाथि गम्भीर प्रश्न उठाएको छ। स्रोतले दिएको जानकारी स्थानीय हार्डवेयर पसल संचालक तथा तस्करीसँग संलग्न रहेको आरोप लागेका राहुल रानाको समूहले चन्दमाथि हातपात गरेका थिए।
असई चन्दले सामान चेकजाँचको क्रममा विवाद सुरु भएको थियो। विवादको क्रममा राना समूहले प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात गरेका थिए।
घटनापछि चौकीमा तनावको स्थिति सिर्जना भएको थियो। उता यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डिएसपी सागर बोहराले भने प्रतिक्रिया दिँदै तस्करविरुद्ध कानूनी कारबाही गरिएको जानकारी दिए।
यस्तै उनले घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली पठाइएको पनि बताए। ‘मलको विषयमा विवाद भएको जानकारी आएको छ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने।
पछिल्लोसमय स्थानीयस्तरमा खुलेआम हुने तस्करी र त्यससँग जोडिएका व्यक्तिहरूको गतिविधिले सुरक्षाकर्मी नै निशानामा पर्न थालेका छन्।