धनगढी: कैलालीको धनगढीमा लागूऔषध (खैरोहेरोइन) सहित नेपाल प्रहरीका कर्मचारी समातिएका छन्। आज (मंगलबार) लागूऔषध व्युरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले नेपाल प्रहरीका एक जवानलाई लागूऔषधसहित समातेको हो।
प्रहरी स्रोतका अनुसार समातिनेमा गोदावरी नगरपालिका वडा नम्बर ९ घर भएका २७ वर्षीय प्रहरी जवान चिरञ्जीवी विश्वकर्मा रहेका छन्।
उनलाई धनगढी उपमहानगरपालिका वडानम्बर २ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको कार्यालय बाहिरको सडकखण्डबाट समातिएको हो।
उनको साथबाट ३८० मिलिग्राम लागूऔषध बरामद गरिएको जनाइएको छ। उनी प्रदेश प्रहरी कार्यालय धनगढीमै कार्यरत थिए।
यसअघि केही दिन अगाडिमात्रै धनगढीकै त्रिनगर प्रहरी चौकीका जवान डम्बर साउदलाई पनि लागूऔषध सेवनकर्ताको शङ्का लागेर प्रहरीले समातेको थियो।
तर उनको साथबाट लागूऔषध बरामद नभएपछि उनलाई छाडेर फेरि ड्युटी खटाइएको थियो। पछिल्लो समय लागूऔषध नियन्त्रणमा लाग्नुपर्ने प्रहरी नै लागूऔषध सेवन तथा कारोबारमा लाग्दा समग्र विभाग नै बदनामीको भागेदार बन्दै गएको देखिन्छ।
र, यो पनि: कैलालीमा प्रहरीलाई लागूऔषधमा उन्मुक्ति, त्रिनगरका ५ जना तानिए
कैलालीमा प्रहरी नै ड्रग्स सेवनकर्ता, घटना राखियो गोप्य