काठमाडौं: आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ। स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्याण्डलाई १६ रनले पराजित गरेकाे हाे।
नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अलआउट हुँदै २२० रन मात्र बनायो।
वेस्ले बारेसीले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० र माइकल लेभिटले २७ रन बनाए। काइल क्लेइनले २५ र नोआ क्रोएसले २२ रनको योगदान दिए।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिए। नन्दन यादवले ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिए। ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेछ हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आरिफ शेखको संयमित ब्याटिङमा ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाउँदै २३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
आरिफले सर्वाधिक ८४ रन बनाए। ८५ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे। उनी अन्तिम ओभरको तेस्रो बलमा बोल्ड आउट भएका थिए।
त्यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन बनाए। कुशल भुर्तेलले १८ तथा दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए।
नेदरल्याण्ड्सका लागि पल भान मिकेरनले १० ओभरमा ५८ रन दिएर ४ विकेट लिए। माइकल लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए।
नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा पनि जित निकालेको थियो। योसँगै नेपालले यस शृंखलाका ४ मध्ये ३ खेलमा जित निकालेको छ।
योसँगै लिग २ शृंखलामा नेपालको १६ खेलबाट १२ अंक भएको छ र सातौं स्थानमा छ। नेदरल्याण्ड्सको २३ खेलमा २६ अंक छ।