धनगढी: कञ्चनपुरमा नेपाल प्रहरीका असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना, सोही ठाउँ बस्ने कलीराम चौधरी र दुम्ली चौधरी रहेका छन्।
हिजो एक जनामात्र समातिएकोमा अहिलेसम्म पक्राउ पर्नेको संख्या ३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए।
उनकाअनुसार राहुल रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले मंगलबार साँझमात्रै पक्राउ गरेको थियो।
रानाको समूहले चेकजाँचका क्रममा केही दिनअघि कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो।
चन्दमाथि कुटपिट गर्ने राना स्थानीय हार्डवेयर व्यापारी हुन्। रानाको समूहले भारतबाट अवैध रूपमा सामान ओसारपसार गर्दै आएको दाबी गरिएको छ।
उनको समूहले चेकजाँचकै क्रममा असई चन्दमाथि कुटपिट गरेको प्रहरीको आरोप छ। चन्दलाई कुटपिट गर्दै बाँध्ने प्रयास समेत गरिएको सार्वजनिक भिडियोमा देखिन्छ। यस विषयमा पहिलोपटक महेन्द्रनगरपोष्टले समाचार सार्वजनिक गरेको थियो। समाचार आएपछि दबाबमा आएर प्रहरीले राना समूहलाई समातेको बुझिएको छ।
र, यो पनि: कञ्चनपुरमा दिनदहाडै प्रहरीका असई कुट्ने व्यापारी राना पक्राउ