धनगढी: कैलालीको धनगढीमा १० जना सम्मानित भएका छन्। नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनमा १० जनालाई सम्मान गरिएको हो।
कार्यक्रममा सञ्चारमाध्यमबाट सुदूरपश्चिमको खेलकुद विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार दिनेशबहादुर बिष्टलाई सम्मान गरिएको छ। उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सम्मानपत्र प्रदान गरेका हुन्। बिष्ट खेलकुद पत्रकार मंच कैलालीका उपाध्यक्ष पनि हुन्।
सोही अवसरमा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई स्वर्ण जिताउन सफल फुटबल खेलाडी दिपेश खड्का (डेभिट) पनि सम्मानित भएका छन्। उनी अहिले ग्रासरुट फुटबल अभियान चलाइरहेका छन्। क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र दडिमाना क्षेत्री, भलिबल प्रशिक्षक प्रेमराज जोशी, उसु प्रशिक्षक रतन खाती, कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष समेत रहेका कराते प्रशिक्षक ललित खत्री, बक्सिङ प्रशिक्षक बमबहादुर बोगटी र राष्ट्रिय खेलकुद परिषदका सदस्य जगत धामी सम्मानित भएका हुन्।
कार्यक्रममै उत्कृष्ट जिल्लाका रुपमा नेपाल खेलकुद महासङ्घ बैतडीका अध्यक्ष भुपेन्द्र चन्द र सागिंतिक क्षेत्रतर्फ सजल कला केन्द्रकी सञ्चालिका पुस्पा बडैलालाई सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सम्मानपत्र प्रदान गरेका थिए।
नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रकाश चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहाल, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल लगायतले शुभकामना मन्तव्य राखेका थिए।