धनगढी: कैलालीमा हिजो (बिहीबार) प्रहरीले गरेको इन्काउन्टर अपरेसन ‘फेक’ भएको बुझिएको छ। नेपाल तथा भारतस्तरीय उच्च प्रहरी स्रोतका अनुसार कैलालीमा गरिएको हाफ इन्काउन्टर ‘फेक’ भएको खुलेको हो।
उसो त, कैलाली प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा (युवकमाथि) धारिलो हतियार प्रहार गर्ने घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरेको जानकारी दिएको थियो। तर, प्रहरीले दिएको सो जानकारी पनि झुटो भएको खुलेको छ।
१५ जेठमा टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि क्याफेमा कफी पिइरहेको बेला खुकुरी र चक्कु प्रहार भएको थियो। घटनामा संलग्न रिदम ढुंगाना र मिलन चन्द त्यस दिनदेखि फरार थिए।
स्रोतका अनुसार उनीहरू फरार भएर भारतको राजस्थान पुगिसकेका थिए। तर, कैलाली प्रहरी, इलाका प्रहरी कार्यालय टीकापुर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा केही प्रहरी खटिएर उनीहरू दुबैलाई सुदूर पहाडतर्फ खोज्न थालियो।
सो क्रममा केही प्रहरी डोटी पनि पुगेका थिए। तर त्यहाँ उनीहरू फेला नपरेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश कार्कीको नेतृत्वमा वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत सई दिपेन्द्र किमाडी र प्रदेश प्रहरी कार्यालयमै कार्यरत असई लोकेन्द्र सिंहसहितको टोलीलाई गड्डाचौकी-बनवासा हुँदै केही दिन अगाडि भारत पठाइएको थियो।
चन्द र ढुंगाना भारतमा लुकेर बसेको खबर पाएपछि नेपालबाट प्रहरी टोली भारत पसेको थियो। त्यसपछि उनीहरूलाई राजस्थान आसपास क्षेत्रबाट भारतीय प्रहरीकै सहयोगमा कैलालीकै एक सीमानाका भएर नेपाल ल्याइएको स्रोतले जानकारी दिएको छ।
नेपाल ल्याउने क्रममा सशस्त्र प्रहरीलाई समेत खबर नगरिएको बताइएको छ। त्यसपछि चन्द र ढुंगानालाई भजनी नगरपालिकाको जंगल क्षेत्रमा लगेर गोली हानिएको स्रोतको दाबी छ।
स्रोत भन्छ, ‘प्रहरीले योजनाबद्ध तरिकाले फेक इन्काउन्टर गरेको हो। कस्टडी दिईसकेका उनीहरूमाथि प्रहरीले गोली चलाउनु मानव अधिकारको हनन् मानिन्छ।’
परिवार पक्ष के भन्छ ?
उता चन्दका परिवारले पनि भारतबाट ल्याएर जंगलमा उभ्याएर पछाडीबाट दुबैको खुट्टामा प्रहरीले गोली हानेको दाबी गरेको छ। चन्दका दाई सुदिपले उनीहरू भारतमा रहेको भएपनी नेपाल ल्याएर गोली हानिएको कुरा आफूकहाँ पुगेको जनाए।
यस्तै प्रहरीले हिजोदेखि आफूहरुलाई समेत अस्पतालमा भेट्नसमेत नदिएइको आरोप लगाएका छन्। प्रहरीले गोली हानेपछि सत्यता बाहिर आउने डरले आफन्तलाई पनि अस्पतालमा भेट्न निषेध गरेको उनीहरूको आरोप छ।
बोल्दै मान्दैनन् डीआईजी
यता सुदूरपश्चिम प्रहरीका डीआईजी डम्बर विश्वकर्माले भने यस घटनाका सवालमा बोल्नै मानेका छैनन्। उनले सबै कुरा कैलाली जिल्लाको एसपी बाल नरसिंह राणालाई थाहा भएको भन्दै आफू जवाफदेहीताबाट पन्छिएका छन्।
यता, कैलाली प्रहरीले भने सो इन्काउन्टरको बनावटी कहानी बनाएर सञ्चार माध्यममा दिएको छ। कैलाली बिहीबार उनीहरू भारततर्फ भाग्ने तयारीमा रहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गोली हानेर दुबैलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।
जबकी प्रहरीले कैलारी गाउँपालिका–३ स्थित शिवरत्नपुरबाट दुवैलाई पक्राउ गरेको भनेपनी इन्काउन्टर गरेको स्थान भने भजनी नगरपालिका–७ स्थित हिक्मतपुर सामुदायिक वनलाई बताएको छ।
कैलाली प्रहरीका प्रवक्ता एवं डीएसपी राजकुमार सिंहले उनीहरू (चन्द र ढुंगाना) ले वन क्षेत्रमा पुगेपछि पिसाब लागेको भन्दै भ्यानबाट झर्न अनुमति मागेको र भाग्न थालेपछि गोली चलाउनुपरेको जनाएका छन्। यद्यपि प्रहरीले दिएको यो जवाफमा दम भने देखिन्न। किनकि, ३ कार्यालयका युनिटले २ जनालाई हतकडी लगाएर भ्यानमा गालेर लगिरहेको बेला भाग्न खोज्ने सम्भावना नै न्यून हुन्छ।
यस्तै प्रहरीले सुरुमा दुई राउण्ड फायर गरेको बताएपनी पछि सच्चाएर केही राउन्ड हवाई फायर र २ राउन्ड खुट्टामा हानिएको जानकारी दिएको छ। यसले पनि प्रहरीले यथार्थ घटना लुकाइरहेको स्पष्ट हुन्छ।
प्रहरीले चलाएको गोली दुवैजनाको तिघ्रामा लागेको छ। घाइते ढुंगाना र चन्दको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। सार्प सुटरको भन्दा पनि नचुक्ने निशाना लगाएजस्तै गरि दुबैलाई एकैनाश गोली हानिएको तस्बिरमा पनि देख्न सकिन्छ।
यसले पनि सो घटना योजनाबद्ध इन्काउन्टर देखिन्छ। कैलालीको पूर्वी क्षेत्रमा हुने आपराधिक गुण्डागर्दी गर्नेलाई तर्साउन प्रहरीले यस्तो गरेको हुनसक्ने देखिएको छ।
५ जनाविरुद्ध जाहेरी, २ जनामात्र पक्राउ
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँचजनाविरुद्ध किटानी जाहेरी परेको थियो। तर अहिलेसम्म प्रहरीले भने धनगढीका मिलन चन्द र अछामका रिदम ढुंगानालाई मात्र समातेको छ।
सो घटनाका मुख्य योजनाकार भने अन्य तीन जना हुन्, जसको पहिचान भइसकेको भएपनि उनीहरू अझै फरार छन्।
खुकुरी र चक्कु प्रहारबाट गम्भीर घाइते भएका टेकेन्द्र सिंह विष्टको काठमाडौँको टिचिङ अस्पतालमा उपचार गरिएको थियो। हाल अवस्था सुधार भएपछि उनलाई डिस्चार्ज गरिसकिएको छ।