धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्री कमलबहादुर शाहले निर्देशन दिएका छन्। चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट ४ जेठमा मन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री शाह मन्त्री चौधरीको कार्यशैलीबाट असन्तुष्ट रहेको स्रोतको दाबी छ। बजेट निर्माणका क्रममा समेत मन्त्री चौधरीले एकलौटी निर्णय लिएको भन्दै मुख्यमन्त्री शाहले असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिन निर्देशन दिएका हुन्।
हाल मन्त्री चौधरी आन्तरिक छलफलमा छन्। उनी नाउपाका प्रदेश सभा सदस्यहरूसँग परामर्श गरिरहेका छन्।
तर नाउपा निकट स्रोतका अनुसार चौधरी कृषि मन्त्री रहँदा ‘पावर टिलर’ वितरणको नाममा किसानबाट रकम उठाउने समूहसँग जोडिएको विषयमा मुख्यमन्त्रीले चासो देखाएका थिए। सो प्रकरणमा संलग्न कैलालीकी सुशिला खड्कालगायत केहीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
यसअघि पनि नाउपाका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी दीगो वन व्यवस्थापन कार्यविधिमा आर्थिक चलखेलको प्रयासमा मुछिएपछि राजीनामा दिएका थिए। त्यसपछिको सिफारिसमा रामेश्वर चौधरी मन्त्री बनेका थिए।