काठमाडौं: सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
उनलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती गरेको थियो। दर्ज्यानी चिह्न लगाएपछि उनलाई रिक्त सीमा सुरक्षा विभागको जिम्मेवारी दिईएको छ। सशस्त्रमा यो महत्वपूर्ण विभाग मानिन्छ।
आईजी अर्यालले दर्ज्यानी चिह्न प्रदान गर्दै दीर्घकालीन रुपमा संगठनको लक्ष्य हासिल गर्न पेशागत जीवनमा लामो समय हासिल गरेका सबै सशस्त्र प्रहरी कर्मचारीहरुको ज्ञान, सीप, क्षमता र अनुभवको उच्च मुल्यांकन हुने भएको हुँदा कार्यक्षेत्रमा खटिदा आम नागरिकको सेवा, सुरक्षा र सहयोगमा ईमान्दार र कर्तव्यनिष्ठ भई लाग्नुपर्ने पनि बताएका थिए।
महानिरीक्षक अर्यालले भ्रष्टाचार एवं लैङ्गिक हिंसामा शुन्य सहनशिलता एवं मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा हरहमेशा कटिबद्ध तथा पूर्ण व्यावसायिकतासाथ लाग्नुपर्ने बताउँदै आपसी भाईचारा, बन्धुत्व, सद्भाव एवं सहयोगी भावनाकासाथ संगठनप्रति निष्ठावान हुँदै अनुशासित र ईमान्दारितापूर्वक आफ्ना कामकारवाही अगाडी बढाउनुपर्ने बताए।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी एवं सशस्त्र प्रहरी बल नेपालका सिनियर तथ जुनियर अधिकृतहरू र विल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो।