धनगढी: कैलालीको धनगढीस्थित कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा मृत्यु भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पालीको परिवारले पाँच दिनपछि शव बुझेको छ।
पालीकी श्रीमती जानकी सावदले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) हरजीत नाथलाई पक्राउ गरेपछि मृतकका परिवारले शव बुझेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)राजकुमार सिंहले पालीको शव परीक्षणपछि शुक्रबार बिहान पीडित पक्षले शव बुझेको जानकारी दिए।
नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन्। नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो। अहिले मृतककी श्रीमतीले उनीविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरेकी छन्।
मृतककी श्रीमती जानकी साउँदले नाथकै योजनामा कारागारभित्र कुटपिट गरि श्रीमानको हत्या गरिएको आरोप लगाउदै बुधबार कारागार प्रमुख बसन्त बहादुर खत्रीसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। तर, कैलाली प्रहरीले उनलाई जाहेरी सच्याएर ल्याउन भनेपछि बिहीबार भने नाथविरुद्ध मात्र जाहेरी दिइएको थियो। त्यसपछि नाथ समातिएर हिरासत पुगेका थिए।
२९ जेठमा डडेल्धुराबाट पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो। ३१ गते शनिबार परेका कारण उनलाई असार १ गते मात्र अदालत पेश गरिएको थियो। अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो।
तर २ गते राति साढे १० बजे कारागारका बाथरुम नजिकै पाली अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति मृत्यु भएको थियो। मृतक पालीका शरीरमा चोटपटक समेत देखिएका कारण परिवारले उनको योजनाबद्ध हत्या गरेको आरोप लगाएको छ।
सोही क्रममा घटनाको थप छानबिन गर्न कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन पनि गरिएको छ।
र, यो पनि: धनगढी जेलमा डडेल्धुराका पालीको मृत्यु प्रकरण: प्रहरीका सई नाथ पक्राउ