धनगढी: नेपाल प्रहरीका सहायक निरीक्षक (असई)हरुले स्किन क्यान्सरबाट पीडित पोखराका ९ वर्षीय दिवम मरासनीको उपचारका लागि आर्थिक सहयोग गरेका छन्।
प्रहरी असई ब्याच नम्बर २–१७८ मा आबद्ध अधिकारीहरूले सामाजिक सञ्जालमार्फत दिवमको अवस्थाबारे थाहा पाएपछि व्यक्तिगत रूपमा रकम संकलन गरी सहयोग गरेका हुन्।
उनीहरूले जम्मा ३५ हजार २५४ रुपैयाँ दिवमको उपचारका लागि हस्तान्तरण गरेका छन्। सहयोग गर्नेहरूमध्ये नेपाल प्रहरीकी पहिलो महिला सगरमाथा आरोही प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पाले एक्लैले ८ हजार ८४८ रुपैयाँ सहयोग गरेकी छन्।
सहयोग रकम दिवमका पिता दिलीप मरासनीलाई हस्तान्तरण गरिएको हो। ब्याचका एक प्रहरी सदस्यका अनुसार, “हामीले ड्युटी मात्रै होइन, मानवता पनि बोक्नुपर्छ भन्ने सन्देश दिएको छ।”
यो सहयोगप्रति प्रहरी परिवारप्रतिको सकारात्मक दृष्टिकोण र सहानुभूतिको भावना देखिएको छ। प्रहरी संगठनको प्रहरी जनताको सेवामा भन्ने नारालाई व्यवहारमा उतारिएको यो प्रयास प्रेरणादायी बनेको छ।
जो–कोहीले चाहेमा दिवमको पिता दिलीप मरासनीमार्फत थप सहयोग गर्न सकिने जानकारी पनि दिइएको छ।दिवम मरासनीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण प्रहरी परिवारले जनताको सेवामा निरन्तर समर्पित रहने संदेश दिएको छ।