
काठमाडौंः संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी बिधेयकउपर नियमित छलफल सुरु भएको छ। आइतबारदेखि संशोधतकर्ता सांसदहरुसँग छलफल सुरु भएको छ।
त्यसपछि पूर्वप्रहरी महानिरीक्षक, पूर्वगृहमन्त्री तथा सुरक्षाविद्हरुसँग छलफल गरेर बिधेयकलाई छिटो टुंगाउन लागिएको छ । यसरी हतार हतारमा बिधेयक पास गर्न लागिएको सूचनापछि प्रहरी प्रधान कार्यालयमा त्यसको तरंग देखिएको छ । किनकी अबको दुई महिनाभित्रै बिधेयक पास भएमा प्रहरी महानिरीक्षक दीपक थापाको कार्यकाल थपिनेछ ।
३० वर्षे सेवाहदका कारण उनले आगामी १८ भदौदेखि अवकाश पाउने अवस्था छ । बिधेयकमा ३० वर्षे सेवाहद हटाउने प्रावधान छ । ऐन पास भएको पहिलो वर्ष सेवाहदका कारण अवकाश पाउनेको हकमा ६ महिना पदावधि थप्ने व्यवस्था छ । सोही कारण आइजिपी थापाको लागि समेत छिटो बिधेयक पास गर्न लागिएको चर्चा छ । राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा र आइजिपी थापाबिच निकटस्थ सम्बन्ध छ ।

तर, त्यसपछि आइजिपी हुने ब्याचका अधिकारी भने सशंकित छन् । १८ भदौपछि दुई महिनाका लागि चन्द्रकुबेर खापुङ आइजिपी हुने अवस्था छ । त्यसपछि दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र शिद्धिबिक्रम शाहको ब्याच छ । त्यसपछिका ब्याचका अधिकारी पनि तत्काल सेवाहद हटाउन नहुने पक्षमा लागेका छन् । त्यसकारण प्रहरीमा ३० वर्षे सेवाहदको विषयमा उच्च प्रहरी अधिकारीकै फरक–फरक मत बिधेयक निर्माणमा पनि देखिएको छ ।