काठमाडौंः हाइड्रोपावर कम्पनीहरुको प्राथमिक शेयर निष्काशन नियोजित रुपमा रोकेर बार्गेनिङ गरिरहेको आरोप खेपिरहेका नेपाल बितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफ्नै लगानीको हाइड्रोपावरलाई भने आइपिएओ निष्काशन अनुमति दिएका छन्। बुंगल हाइड्रोलाई १५ असारमा आइपिओ निष्काशनको अनुमति दिइएको छ।

सो कम्पनीमा अध्यक्ष श्रेष्ठको ३३ हजार कित्ता शेयर रहेको छ । कम्पनी उनकै निकटस्थहरुको लगानीमा सञ्चालित छ । बोर्डले १९ करोड पाँच लाख रुपैयाँको शेयर निष्काशनका लागि सो कम्पनीलाई अनुमति दिइएको छ ।
सबै प्रक्रिया पूरा गरेर पनि अरु दर्जनौं हाइड्रोपावर कम्पनीको भने आइपिओ निष्काशन अनुमति बोर्डले रोक्दै आएको छ । श्रेष्ठ निकट व्यक्तिहरुले त्यसका लागि पैसाको डिल गरेको उर्जा उत्पादक व्यवसायीहरुले बताएका छन्। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)का अध्यक्ष गणेश कार्कीले सार्वजनिक रुपमै श्रेष्ठमाथि यस्तो आरोप लगाएका छन् । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गरिरहेको छ ।
बिचौलिया समूहको स्वार्थमा श्रेष्ठलाई बोर्डमा नियुक्त गरिएको आरोप लाग्दै आएको छ । उनका निर्णय र गतिविधिले त्यसलाई पुष्टि गर्दै लगेको बोर्डका कर्मचारी बताउँछन् ।