काठमाडौंः सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको भन्दै नेपाल प्रहरीकै एक कर्मचारीले हस्ताक्षर गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत सइ कमल खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयले छानविन थालेको हो।
लामिछानेमाथि प्रतिशोध भएको भन्दै रास्वपाले देशैभरी हाल हस्ताक्षर अभियान चलाएकोमा सइ खड्काले पनि केही दिनअघि नेपालगञ्जमा हस्ताक्षर गरेका थिए। यूनिफर्ममै उनले लामिछानेको पक्षमा हस्ताक्षर गरेको फोटो भाइरल भएको थियो। सोही आधारमा उनीमाथि छानविन थालिएको हो। उनीमाथि आचरणसम्बन्धि कारबाही गर्न लागिएको छ।
सहकारी ठगीको मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्।
जिबी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्दा उनले सहकारीको रकम दुरुपयोग गरेको अभियोग छ। तर, लामिछानेले भने सहकारीबाट पैसा लैजाने प्रक्रियामा आफ्नो कुनै भूमिका नभएको बताउँदै आएका छन्।
