काठमाडौंः एसपीलाई धम्की दिदै गालीगलौच गर्ने जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवलाई चार दिनसम्म पनि पक्राउ गर्न प्रहरी असफल भएको छ । गत बिहीबार उनले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएका थिए। शुक्रबार उनीविरुद्ध पक्राउ पूूर्जी जारी भएको थियो।
आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीले शुक्रबार पक्राउ पुर्जी जारी भएको प्रहरीले जानकारी दिएको छ। उनलाई पक्राउ गर्न एक हजार प्रहरी परिचालन गरिएको जानकारी दिइएको थियो। तर, पनि उनी पक्राउ परेका छैनन्। उनी भारत पुगेको आशंका गरिएको छ ।
यादब र एसपी खड्काबिचको फोन संवाद बाहिरिएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा नेता यादबमाथि अनुसन्धान थालेको हो। नेता यादबले एसपी यादबमाथि लुटतन्त्र मच्च्याउन मधेस आएको भन्दै भ्रष्टाचारको आरोप लगाएका छन्।
सर्लाहीको भौतिक विकास कार्यालयको विषयमा उनीहरुबिच यस्तो विवाद भएको हो ।
सो कार्यालयले रातीराती काम गरेर चेक काटेको विषयमा कार्यलयका प्रमुखसँग नेता यादबको विवाद भएको थियो। स्रोतका अनुसार कमिसनको विषयमा विवाद भएको थियो। उनी कार्यकर्तासहित सो कार्यालयमा गएर धम्काएका थिए। कार्यालयले असुरक्षा भएको बताएपछि एसपी खड्काले त्यहाँ प्रहरी खटाएका थिए। प्रहरी समेत मिलेर सो कार्यालयमा असुली भएको भन्दै नेता यादब जंगिएका थिए। प्रहरीमाथि गालीगलौच गरेर अडियो समेत सार्वजनिक गरेपछि प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याएको हो। उनी विगतमा पनि सात पटक पक्राउ परिसकेको खुलेको छ।
